News

Aug 17, 2009

सुदूरपश्चिममा बाढी र पहिरोले जनजीवन नराम्रोसँग प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(डँडेलधुरा) अविरल वर्षाका कारण सुदूरपश्चिममा बाढी र पहिरोले जनजीवन नराम्रोसँग प्रभावित भएको छ। डँडेलधुरामा घर भत्किएर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डँडेलधुराका अनुसार असीग्राम-९ भेटाकी ४५ वषीर्या नारूदेवी दमार्इंको घर भत्किएर मृत्यु भएको छ। पहिरो आएर घर भत्केपछि नारूदेवीको मृत्यु भएको हो। डँडेलधुरा सदरमुकाम क्षेत्रमा समेत पहिरोले दुई घर भत्काएको छ। विद्युत्रोडनजिकै रहेको नेपाली कांग्रेस डँडेलधुराका सभापति रघुवर भट्ट र तुफानडाँडा मोडमा रहेको प्राध्यापक मोहन भट्टको घर भत्किएको छ। जोगबुडा गाविस-१ गुदडीबजारमा बाढीका कारण तीन परिवार विस्थापित भएका छन्। बाढीले घर बगाउन थालेपछि विस्थापित तीन परिवार आफन्तकहाँ शरणार्थी भएको स्थानीय बासिन्दाहरूले बताए। बाढीका कारण कैलालीको भजनी क्षेत्रका १२ गाविस डुबानमा परेका छन्। डुबानमा परेका र्सवसधारणको उद्धारका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। सुदूरपश्चिमका विभिन्न राजमार्गमा पहिरो जाँदा सडक अवरुद्ध हुन गई सुदूरपश्चिम क्षेत्रका सातवटा पहाडी जिल्लाको यातायात ठप्प भएको छ। कैलालीको सहजपुरनजिकै पहिरोले सडक भत्काएको छ भने सोही राजमार्गको गैरा र भात्काडानजिक दुई ठाँउमा पहिराले सडकमा क्षति पुर्याएको छ।यसैगरी डँडेलधुरा-बैतडी-दार्चुला जोड्ने दशरथचन्द राजमार्गको भालुमारेनजिक पहिरोले सडक भत्काउँदा यातायात अवरुद्ध भएको छ भने बझाङ जोड्ने जयपृथ्वी राजमार्ग यसअघि नै पहिरोले ठाँउठाँउमा भत्काउँदा अवरुद्ध थियो। डँडेलधुराबाट डोटी र अछाम जोड्ने डा.केआईसिंह मार्ग डँडेलधुराको सकायलनजिकै पहिरोले भत्काउँदा अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ। यातायात ठप्प भएपछि पहाडी जिल्लाका विभिन्न बजारमा कामविशेषले आएका यात्रुहरू अलपत्र परेका छन्। डँडेलधुराको भित्रीमधेस क्षेत्रका विभिन्न गाँउका खेतबारी बगाएको खबर आउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलसीराम पौडेलले बताए।

No comments: