News

Aug 28, 2009

हङकङ प्रवेश गरेर बिचल्लीमा परेका चार युवक नेपाल फर्कदै

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ /निर्मल श्रेष्ठ
भदौ १३ - करिब तीन महिनाअघि अवैधानिक तबरले हङकङ प्रवेश गरेर बिचल्लीमा परेका चार युवक आइतबार नेपाल फर्कदै छन् । विभिन्न संघसंस्था र क्लबले हवाई टिकटका लागि सहयोग जुटाइदिएपछि बर्दियाका वीरबहादुर खत्री, इन्द्रबहादुर ओली, अफतबहादुर ओली र निमबहादुर भण्डारीलाई स्वदेश फिर्ने बाटो खुलेको हो । हङकङको टेलिभिजन कम्पनीमा जागिर लगाइदिने दलालको आश्वासनमा प्रतिव्यक्ति ४ लाख ७५ हजार रुपैयाँसम्म बुझाएर उनीहरू यहाँ आएका थिए । 'दलालले महिनाको साठीदेखि पचहत्तर हजारसम्म तलब हुने बताएको थियो,' इन्द्रबहादुरले भने । चीनबाट जंगल र समुद्री बाटो हुँदै ज्यान जोखिममा पारी बल्लतल्ल हङकङ प्रवेश गरे पनि गाँसबासको ठेगान नहुँदा पार्कमा भोकै कैयौं रात गुजार्नुपरेको अफतले सुनाए । केही महिना जसोतसो गुजारा गरे पनि जागिर पाउने उपाय नदेखेपछि उनीहरूले देश र्फकन सहयोगका लागि हारगुहार गर्दै आएका थिए । उनीहरूका लागि हङकङका नेपाली फुटबलरहरूले गत साता च्यारिटी म्याच आयोजना गरेका थिए । म्याचबाट उठेको र स्थानीय संघसंस्थाबाट जुटेको रकमले टिकट खरिद गरिएको सहयोग समितिका अधिराज राईले बताए । काउलुन पार्कस्थित ग्राउनडमा म्याच हेर्न चारै पीडित पनि सहभागी थिए । 'कमाउनु त कता हो कता, बाँच्न पनि गाह्रो भो,' पहिले तीनवर्ष मलेसियामा बसेका वीरबहादुरले भने, 'नेपाली दाजुभाइले सहयोग नगरेका भए उहिल्यै मरिन्थ्यो होला ।' सुरुका दिन निःशुल्क खाना पाइने हुने ठाउँ थाहा नहुँदा भोकै बस्नुपरेको निमबहादुरले सुनाए । 'अवैधानिक भनेपछि काम दिन निकै गाह्रो मान्दा रहेछन्,' अफतले भने । छुट्टै समूहमा आएका इन्द्रबहादुरलाई चीनबाट समुद्री बाटो हुँदै हङकङ प्रवेश गर्ने क्रममा प्रहरीले पक्राउ गरेको रहेछ । 'हामी चढेको सानो डुंगालाई प्रहरीले पिछा गर्दै ठोक्कायो,' त्यस क्रममा आफू सवार डुंगा डुब्दा ज्यानै माया मारिसकेको उल्लेख गर्दै उनले भने, 'बल्लतल्ल प्रहरीले नै बाहिर निकाले ।' जेलमा केही साता बसेर छुटेका उनले नेपाल छाडेपछिका दिन अत्यन्तै कष्टकर रहेको सुनाए । केही वर्ष कतारमा समेत बसेका उनका अनुसार नेपाल छाड्नुपूर्व रोजगारी भिसा देखाउन दलाललाई धेरैपटक भने पनि उसले चीनमा पुगेपछि मात्र भिसा लाग्ने भन्दै झुक्याएको बताए । 'चीनको गोन्जाउमा ल्याई विभिन्न बहानामा एक महिना कोठामै थुनिएपछि मात्र फसेको चाल पाइयो,' उनले भने । उनका अनुसार चारै युवकलाई बर्दियाका झुपराज ओली, नेत्र डाँगी र गणेश ओलीले पठाएका हुन् । चीन भिसा लगायतका प्रबन्ध भने काठमाडौं बस्ने सुरेश भट्ट र रमेश श्रेष्ठले गरेका थिए । 'देश फिर्न पाउने भएपछि खुसी लागेको छ,' निमबहादुरले दुःखेसो पोखे, 'तर सयकडा तीनका दरले ब्याज काढेर दलाललाई बुझाएको साहूको ऋण कसरी तिर्ने होला ?' गोन्जाउका दलालले राहदानी फिर्ता नदिएपछि उनीहरूलाई हङकङस्थित नेपाली महावाणिज्य दूतावासले उडानका लागि आवश्यक कागजात उपलब्ध गराएको छ ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.