News

Aug 20, 2009

चीन र हङकङमा पर्यटन प्रवर्द्धनको पहल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल एसोसियन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाटा) ले चीन र हङकङमा पर्यटन प्रवर्द्धनका लागि विशेष पहल गर्ने भएको छ । त्यसका लागि नाटा तथा नेपाल पर्यटन बोर्डको संयुक्त टोली छिमेकी मुलुक चीन तथा हङकङ जाने भएको छ । भदौ दोस्रो साता चीन जाने ३८ सदस्यीय टोलीले चीन तथा हङकङका विभिन्न सहरमा रहेका टुर अपरेटरसँग छलफल गरी नेपाली गन्तव्यको बजारीकरण गर्ने नाटाका प्रमुख कार्यकारी अधिकृत डा. हरि शर्माले बताए ।'नेपाली पर्यटन बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित चीन भ्रमण गर्न लागेका हौं,' उनले भने, 'त्यहाँका स्थानीय टुर अपरेटरसँग छलफल गरी व्यावसायिक वार्ता गर्ने तयारीका साथ जान लागेका हौं ।' १० दिने सो भ्रमणमा नेपाली टुर अपरेटरले आफ्ना प्याकेजबारे जानकारी दिनेछन् । भ्रमणमा नेपालमा सीधै उडान गरिरहेका विमान कम्पनीसँग छलफल गरी नेपालतर्फको उडान थप सहज प्रयास गरिने उनले बताए । नाटाको संयोजकत्वमा हुने भ्रमणमा नेपाल पर्यटन बोर्डलगायत पर्यटनसम्बन्धी संस्थाका प्रतिनिधि पनि सहभागी हुनेछन् । भ्रमणको मुख्य उद्देश्य चिनियाँ पर्यटकलाई नेपालप्रति आकषिर्त गराई सन् पर्यटन वर्ष-२०११ सफल पार्नु रहेको शर्माले जानकारी दिए । भ्रमण टोलीले बेइजिङ, संघाई, ग्याङजोउजस्ता नेपालसँग सीधा हवाई सम्पर्क भएका सहरका टुर अपरेटर तथा विमान कम्पनीसँग छलफल गर्ने नाटा मिडिया सेन्टरका सरिक बोगटीले बताए । नाटा टोली तथा स्थानीय स्थानीय टुर अपरेटर्सबीचको छलफलका लागि बेइजिङमा नेपाली दूतावासले कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । चीनका लागि नेपाली राजदूत टंक कार्कीको संयोजकत्वमा हुने कार्यक्रममा पर्यटनमन्त्री शरदसिंह भण्डारी सहभागी हुने अपेक्षा गरिएको उनले बताए । चीनबाट केही पर्यटक नेपाल आउने गरे पनि हङकङमा नेपालको खासै बजार विस्तार नभएको अवस्थामा भ्रमणले महत्वपूर्ण पहल गर्ने अधिकृत शर्माको भनाइ छ । भ्रमण अवसरमा भर्खरै चीनको कुन्मिङबाट नेपालमा सीधा उडान थाल्ने घोषणा गरेको चाइना इस्टर्न एयरलाइन्सलाई नेपालतर्फको उडान सहज तथा सुलभ पार्न आग्रह गरिने बोगटीले बताए । 'भर्खरै उडान थालको इन्टर्नसँगको सम्बन्ध थप बलियो बनाउँदै अन्य पुराना एयरलाइन्सका टिकट बिक्रेतासँग छलफल गर्दै नेपालका गन्तव्य प्रवर्द्धनमा आग्रह गरिनेछ,' उनले भने । हाल नेपालमा तीन चिनियाँ विमान कम्पनीले बेइजिङ, गोन्जाउ तथा कुन्मिङबाट सीधा उडान गर्दै आएका छन् । बेइजिङबाट उडान भर्ने एयर चाइनाले साताको सात तथा ग्वान्जाओबाट उडान भर्ने चाइना साउदर्नले साताको तीन दिन सीधा उडान भर्ने गरेको छ । सेप्टेम्बर पहिलो सातादेखि नेपालमा उडान सुरु गर्न तयारी थालेको इस्टर्नले साताको तीन दिने उडान अनुमति पाएको छ ।

No comments: