News

Aug 18, 2009

'उपप्रधानमन्त्री' हुन नपाएकोले सुजाता भारत गईनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ - परराष्ट्रमन्त्री सुजाता कोइरालाले स्वास्थ्यको कारण दर्शाउँदै प्रधानमन्त्रीसँगको भारत भ्रमण स्थगित गरेकी छन् । स्रोतका अनुसार उनले स्वास्थ्यका कारण नभई 'उपप्रधानमन्त्री' हुन नपाएको असन्तुष्टि प्रकट गर्न अन्तिम अवस्थामा आएर भारत भ्रमण स्थगित गरेकी हुन् । प्रधानमन्त्रीको भ्रमण तयारीका लागि उनी एक साता लामो भारत भ्रमणबाट गत शुक्रबार फर्केकी थिइन् । प्रधानमन्त्रीसँगै मंगलबार उनी भ्रमणमा सहभागी हुने कार्यक्रम थियो । कांग्रेसबाट नेतृत्व गरेको परराष्ट्रमन्त्री नै नजाँदा सरकारलाई समर्थन नरहेको सन्देश जाने भन्दै पार्टीभित्र समेत यसको तीव्र आलोचना भएको छ । उनलाई 'उपप्रधानमन्त्री' बनाउनेबारे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सोमबार दिउँसो प्रधानमन्त्रीसँगको भेटमा कुरा राखेका थिए । भारत भ्रमण गर्नुअघि महाराजगन्जस्थित निवास पुगेका प्रधानमन्त्रीसँग कोइरालाले 'जानुअघि सुजातालाई उपप्रधानमन्त्री बनाई शपथ गराउनु होला' भनेको स्रोतले बतायो । 'भेटेर निस्कने बेलामा कोइरालाले सुजातालाई उपप्रधानमन्त्री बनाउनुपर्‍यो, शपथ खुवाएर लैजानु भनेर प्रधानमन्त्रीलाई कुरा राख्नुभयो,' स्रोतले भन्यो, 'तर प्रधानमन्त्रीले अहिल्यै केही भन्न सक्दिनँ, सल्लाह गर्छु भन्नुभयो ।' भ्रमणकै मुखमा कोइरालाबाट छोरीलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव आएपछि अन्योलमा परेका प्रधानमन्त्रीले लगत्तै आफ्नो पार्टीभित्र पनि छलफल चलाएका थिए । पार्टीमा त्यसको व्यापक विरोध भएपछि प्रधानमन्त्री हच्केका थिए । स्रोतका अनुसार गठबन्धनलाई टिकाउन सुजातालाई उपप्रधानमन्त्री बनाउनेबारे प्रधानमन्त्री सकारात्मक थिए । तर त्यसो गरिए नराम्रो हुने चेतावनी आफ्नै पार्टीका नेताहरूबाट आएपछि प्रधानमन्त्री हच्केका हुन् । 'हिजो रामचन्द्र पौडेल उपप्रधानमन्त्री र सहाना प्रधान परराष्ट्रमन्त्री हुँदा कांग्रेसले सभामुख र वरिष्ठ नेता उपप्रधानमन्त्री भइसकेपछि सहानालाई उपप्रधान बनाउन मिल्दैन भनेर कांग्रेसले भनेको थियो,' एमाले नेताहरूले प्रधानमन्त्रीलाई स्मरण गराएको उल्लेख गर्दै स्रोतले भन्यो, 'सुजातालाई उपप्रधानमन्त्री बनाउने हो भने कोइरालाको फेर समातेको हुनेछ भनेर चेतावनी दिएपछि उहाँ -नेपाल) पछि हट्नुभएको हो ।' उनलाई उपप्रधानमन्त्री नबनाउन एमाले नेता केपी ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजय गच्छदारले प्रधानमन्त्रीलाई चर्को दबाब दिएका थिए । त्यसअघि प्रधानमन्त्री भारत जानुअघि मन्त्रिमण्डलको विस्तार गर्ने कार्यक्रमसमेत तय भएको थियो । मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) ले मन्त्रिमण्डलमा पठाउने सूचीको अन्तिम निर्णयका लागि सोमबार बैठकसमेत बसेको थियो । कोइरालाले मन्त्रिमण्डल विस्तारसँगै सुजातालाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव राखेका हुन् । मन्त्रिमण्डलको विस्तार हुँदैछ भन्ने खबर राष्ट्रपति कार्यालयलाई समेत गराइएको थियो । उपप्रधानमन्त्रीको विवाद चलेपछि मन्त्रिपरिषदको विस्तारसमेत रोकिएको थियो । एकाएक भ्रमण स्थगित भएपछि त्यसको आक्रोश सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार सुरु केन्द्रीय समितिमा समेत परेको थियो । बोल्ने सदस्यहरूले कांग्रेसकै सहयोगमा प्रधानमन्त्री भएका माधवकुमार नेपालको पहिलो औपचारिक विदेश भ्रमणमा परराष्ट्रमन्त्रीको रवैया कूटनीतिक मर्यादाविपरीत हुनेमात्रै नभएर नेतृत्वलाई असहयोग गर्ने खालको भएको भनी कार्यवाहक सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेलसँग जवाफ मागेका थिए । कोइराला र पौडेलले भ्रमण स्थगनका कारणबारे आफूहरूलाई पनि जानकारी नभएको जवाफ दिएको एक केन्द्रीय सदस्यले कान्तिपुरलाई बताए । प्रधानमन्त्रीको भ्रमणमा परराष्ट्रमन्त्री नजाने घटना विरलै मात्रै हुने र यो घटनाले नराम्रो सन्देश गएको बताउँदै सदस्यहरूले बुधबारको बैठकमा वास्तविकता थाहा पाउनुपर्ने माग गरेका थिए । त्यसलगत्तै कार्यवाहक कोइराला, पौडेल र केन्द्रीय सदस्य कृष्ण सिटौला सभापति कोइरालालाई भेट्न अपराह्न महाराजगन्ज निवास पुगेका थिए । सुजाताको भ्रमणबारे कोइरालाले नेताहरूलाई 'स्वास्थ्य' कारणले नै भएको बताएका थिए । 'सभापतिसँग के हो भनेर बुझ्न गएका थियौं,' सहभागी एक नेताले भने, 'तर उहाँले स्वास्थ्यको कारण हो भनेपछि अन्योल हटाउन परराष्ट्रमन्त्रीबाट विज्ञप्ति आउनुपर्‍यो भनेर हिँड्यांै ।' भ्रमण स्थगित गरेपछि सुजाता भने दिनभर आफ्नै निवासमा रहिन् । उनले केही आफ्ना नजिकका व्यक्तिहरूसँग प्रधानमन्त्रीका लागि आफूले त्यत्रो तयारी गरेको मूल्यांकन पनि नभएको भन्दै गुनासो पोखेकी थिइन् । यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले व्यापार र अनधिकृत व्यापार सन्धि हुनसक्ने बताउँदै पञ्चेश्वरबारे कुनै कुराकानी नहुने बताएका छन् । मंगलबार सद्भावना भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, 'प्राविधिक समितिको रिपोर्ट तयार भइनसकेकाले पञ्चेश्वरबारे कुराकानी हुँदैन ।' उनले सीमा लगायतका साझा सबालहरूमा भने छलफल हुने बताए ।

No comments: