News

Aug 21, 2009

संशोधित व्यापार सन्धीमा हस्ताक्षर हुने संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नया दिल्ली, भदौ ४ - प्रधानमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा बुधबार सहमति हुन नसकेको सन् १९९६ को नेपाल-भारत व्यापार सन्धीको संशोधित स्वरुपमा शुक्रबारसम्ममा कुरा मिल्ने सम्भावना छ । भ्रमणकै क्रममा संशोधित सन्धीमा हस्ताक्षर हुने संकेत प्रधामन्त्री माधवकुमार नेपालले दिएका छन् । यहास्थित इन्डिया इन्टरनेशनल सेन्टरमा नेपाल र भारतका बौद्धिकहरुको जमातलाई विहीवार सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले भने- 'हामी व्यापार सन्धीमा हस्ताक्षर गर्दैछौं ।' प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजनकुमार भट्टर्राईले सन्धीको संशोधन समानताकै आधारमा हुन लागेको र भारतले अहिलेसम्म नमानेको बुदामा सहमति गर्ने संकेत दिएको बताए । तेस्रो मुलुकबाट ल्याइएको सामान नेपालबाट भारत निर्यात गर्न पाइने प्रस्तावित प्रावधानलाई भारतले मानेको छैन । भ्रमणको तेस्रो दिन विहीवार प्रधानमन्त्री माधवकुमार नेपालले भारतका अर्थ र गृहमन्त्री तथा राजनीतिक नेताहरुसग भेटेका छन् । भने नेपाली मन्त्रीहरुले उनीहरुका आफ्ना समकक्षीसंग छुट्टाछुट्टै दिपक्षीय वार्ता गरेका छन् । होटल ओवरोयमा बसेका नेपाली प्रधानमन्त्रीसंगको भेटमा अर्थमन्त्री प्रणव मुखर्जीले भारतले पहिल्यै प्रतिवद्धता जनाइसकेका या ओगटेर राखेका कतिपय योजनाप्रतिको प्रतिवद्धता पुन प्रकट गरेका थिए । ती आयोजना पुरा गर्न करिव ३२अर्ब नेपाली रुपैया लाग्ने मुखर्जीले सम्बदाताहरुलाई बताए ।
'तराइको लिङ्क रोड, पुलिस एकेडेमी र सीमानामा एकीकृत सुरक्षा चेक पोस्ट (भन्सार सुधार)' मुखर्जीले भारतले सहयोग गर्ने आयोजनाहरुको नाम उल्लेख गरे । एकेडेमीबाहेक सबै पुरानै योजना हुन् । एकेडेमीबारे केही अघि छलफल भएको थियो । नेपाली पक्षले प्रतिवद्धता गरिएका पुरानै योजनाका लागि समयावधि तोक्न जोड दिएको थियो । गृहमन्त्री पी चिदाम्बरमसंगको भेटमा सीमानामा हुने आपराधिक गतिविधिको नियन्त्रणमा दुबै देशका गृहमन्त्रालय अर्न्तगतका संयन्त्रलाई सक्रिय तुल्याउनेबारे कुरा भएको जानकारी भट्टर्राईले दिए । उर्जामन्त्री प्रकाश शरण महतले आफ्ना समकक्षी शुशिलकुमार सिन्धेलाई भेटेर दुइ देशबीचका केही प्रसारण लाईनबारे कुरा गरेका छन् । १३ किलोमिटरको फर्बिसगन्ज-जोगबनी, ५ किलोमिटरको रक्सौल-परवानीपुर, चार किलोमिटरको कटैया -नेपालसीमासम्मको प्रसारण लाईन भारतले चाडै नै बनाइदिने आश्वासन दिएको छ । महतका अनुसार आगामी १५ दिनजतिमा भारतले सचिवस्तरीय टोली पठाएर 'ढल्केवर-मुजफ्फरपुर' लाईनबारे थप छलफल गर्ने छ । 'उनीहरुले नेपाली इन्जिनियरहरुलाई प्रशिक्षण दिने भनेका छन्,' महतले भने । यस अघि प्रधानमन्त्रीकारुपमा पुष्पकमल दाहाल आउदा भारतले 'उपहार स्वरुप' दिएको नौमुरे आयोजनाको पूर्व सम्भाव्यता रिपोर्टआएपछि त्यसबारे थप सहयोग गर्ने भारतीयहरुले बताएको महतले बताए ।पर्यटन तथा नागरिक उडडयन मन्त्री शरतसिंह भन्डारीले आफ्ना समकक्षी प्रफुल पटेलसंग विहीवार भेटेर दुइ देशबीचको उडान सम्झौतालाई संशोधन गर्नेबारे कुरा गरेका थिए । दुइ देशबीच अहिले साता भरीका उडानमा ६ हजार सीट संख्या तोकिएको छ । नेपालको सरकारी उडान सेवाको विमान नभएको र निजीले उडान नगरेको अवस्थामा नेपालले उडाउन पाउने सिट संख्या सधै तोकिएको भन्दा निकै कम भइरहेको छ भने भारतीयहरुले उडाउन पाउने संख्या अव नपुग हुन लागेको छ । 'त्यो संख्या बढाउनेगरी सम्झौतामा संसोधन गर्ने भनेको हो,' भन्डारीले भने । सेप्टेम्बर पहिलो सातामा नेपाली टोली दिल्ली आएर संसोधनका अन्य बुदाबारे कुरा गर्ने सहमति भएको भन्डारीले बताए । त्यस्तै चालु उडान रुटहरुमा थपथाप र बदलाव गर्नेमा पनि नेपालले कुरा राखेको छ ।

No comments: