News

Aug 24, 2009

यन्त्रमानवले गर्ने भो सबै काम !

श्यामल
अब, आउँदो दस वर्षमा, विनाचालक नै ट्रक सडकमा गुड्नेछ । पाल्तु पशुपक्षीका रूपमा पनि रोबोटले नै काम गर्नेछन् । रोबोटले सर्जनको काम गर्नेछ, अनि आजजस्तो अमेरिकीहरूले नेपाली, फिलिपिनो वा तेस्रो विश्वका महिलालाई बेबिसिटरको जागिर दिनेछैनन्, आफ्नै रोबोटले काम फत्ते गर्नेछन् । अर्थात् मानिस र उसका घरपालुवाले गर्ने जटिल काम यन्त्रमानवले गर्नेछ । यसका लागि विज्ञान-प्रविधिमा उच्च दक्षता हासिल गरेका जापान, अमेरिका र बेलायतजस्ता देशमा तयारी भइरहेको छ । बेलायतले त दस वर्षमा चमत्कारी यन्त्रमानवलाई गाडी चलाउन जिम्मा दिने भइसकेको छ ।हुन त विनाचालकको ४२ टन क्षमताको लरी सडकमा बेतोडले कुदिरहेको देखेर तपाईंको सातो जाला तर यो राम्रैसँग चल्छ । पक्का हो, आउँदो दस वर्षमा बेलायतका सडकमा यस्ता लरी गुड्नेछन् । विज्ञहरूले यस्तो भविष्यवाणी गरेका हुन् । यिनै ट्रकले रोबोट-क्रान्तिको विचित्र युग निम्त्याउनेछन् । रोयल एकेडेमी अफ इन्जिनियरिङका अनुसार, कृत्रिम बौद्धिकताले युक्त रोबोट र कम्प्युटरहरूले जीवनमरणको निर्णय लिन सक्नेछन् र यो तपाईं-हाम्रो जीवनका सबै पक्षमा सामान्य बन्न पुग्नेछ । सो एकडेमीले बूढाबूढीका लागि शल्यचिकित्सक, सिपाही, बेबीसिटर (बालबालिकाको स्याहार गर्ने मानिस), थेरापिस्ट र बिरामीको स्याहारकर्ताका रूपमा यस्ता सोच्नसक्ने यन्त्रको बढ्दो उपयोगसम्बन्धी सामाजिक, कानुनी र नैतिक मामलामा सार्वजनिक बहस होस् भन्ने चाहिरहेको छ । हो, यसले जसका यौनसाथी छैनन्, तिनलाई यौनसुखसमेत दिनेछ । विज्ञहरूले यसलाई स्वचालित प्रणाली भनेका छन् ।उनीहरूले दिएको प्रतिवेदनले कसरी कम्प्युटरनिर्देशित ट्रकहरूले सवारी र पैदल हिँड्नेहरूलाई हेर्नका लागि लेजर राडार, भिडियो क्यामरा र स्याटनाभबाट प्राप्त तथ्यांकको उपयोग गर्छन् भन्ने विवरण प्रस्तुत गरेको छ । यसै प्रतिवेदनका सहलेखक तथा साउथह्याम्पटन विश्वविद्यालयका प्रोफेसर विल स्टेवार्टले चालकविहीन लरी र कारहरू चलाउने कामलाई निकै नै सुरक्षित तुल्याउने दाबी गरेका छन् ।'यो यन्त्र सम्पूर्ण रूपले सुरक्षित छ । तपाईं-हामीजस्ताले सडकमा बेहोर्नुपर्ने जोखिम यसले मोल्नुपर्दैन । यो नथाकीकन चौबीसै घन्टा कुदिरहन सक्छ,' विल स्टेवार्ट भन्छन् । स्टेवार्टका अनुसार चालकविहीन कार र रोबोट ट्याक्सीका लागि यो प्रविधि तयार भइसकेको छ । आउँदो बीस वर्षजतिमा त्यस्ता ट्याक्सीले आफ्ना यात्रुहरूलाई कुनै पनि गन्तव्यमा पुर्‍याउनेछन् । लन्डनको डकल्यान्ड लाइट रेल्वेमा यस्तो पूरै स्वचालित रेल प्रयोगमा आइसकेको छ भने साँघुरा गल्लीमा २५ मिटर प्रतिघन्टा चल्नसक्ने चालकविहीन कार हिथ्रोमा पहिलोपल्ट प्रयोगमा ल्याइनेछ ।स्टेवार्टले स्वचालित वाहनहरू मालसामान ओसारपसार गर्नका लागि अति नै उपयोगी हुनेछन् । उनी भन्छन्, 'मलाई लाग्छ, दस वर्षमा ३० प्रतिशत ट्रकहरू यन्त्रचालित हुनेछन् । उनीहरूका कम्प्युटरले अन्य सडक प्रयोग गर्नेहरूको व्यवहारको अनुमान गर्नेछन्, अन्य गाडी साह्रै नजिक आइपुगे भने त्यस्ता गल्तीबाट सिक्न सुरक्षित किसिमले बिस्तारै गति कम गर्नेछन् ।यदि लरीमा कुनै किसिमको यान्त्रिक वा सफ्टवेयरमा गडबडी भएको पत्ता लाग्यो भने यिनले तान्छन् र रेडियोको मद्दत लिन्छन् । प्रोफेसर स्टेवार्टले भने, 'यसले अन्य गाडीलाई बाटो छाडिदिने गर्छन् ताकि अन्य गाडी सुरक्षित तवरले आफ्नो बाटो लाग्न पाऊन् ।'यसो भए पनि प्रतिवेदनले यस्ता स्वचालित कार दुर्घटनामा परिहालेका खण्डमा निकै जटिल कानुनी झन्झट हुनसक्ने सम्भावना औँल्याएको छ ।

चालकविहीन वाहनहरू
लेजर राडार र क्यामराको प्रयोगबाट यस्ता गाडीले सवारीको स्क्यान गरेर आफ्नो वरपरको सडकको त्रिआयामिक चित्र खिच्छन् । यस्ता चित्र पैदलयात्रुले बाटो काटिरहेको, अन्य गाडी वा गाडी फस्नसक्ने दलदलजस्ता खतराको अवस्था पहिल्याउँछन् । चालकविहीन ट्याक्सी भने आउँदो वर्ष हिथ्रोमा देख्न पाइनेछ ।
रोबोटे घरेलु पशुपक्षी
बुद्धिमान् तथा कुरा बुझ्नसक्ने रोबोटे कुकुर र अन्य पाल्तु पशुपक्षीले प्रतिक्रिया दिन आफ्नो मालिक कम्पनीको आवाजको निर्देशन खोज्नेछन् । तिनमा सेन्सर जडान गर्न सकिन्छ र मालिक बिरामी परे उसका नातेदारलाई खबर गर्न अलार्म पनि राख्न सकिन्छ ।
रोबोटे सर्जन
गत जुनमा लन्डनमा एकजनाको मिर्गौला प्रत्यारोपण गर्न स्वचालित रोबोटको प्रयोग गरिएको थियो । सुरुमा दुर्गम स्थान वा युद्धमैदानका लागि तयार गरिए पनि तिनमा त्रिआयामिक अल्ट्रासाउन्ड र भिडिओ क्यामरा जडान गरेर नियमित अप्रेसनका लागि समेत उपयोग गर्न सकिन्छ ।
रोबोटे बेबिसिटर
यस्ता रोबोटे शिशु स्याहारकर्ता अनुहार पहिचान गर्न, शिशुहरूसँग कुराकानी गर्न र उनीहरूलाई ठीक ठाउँमा राख्न सक्छन् । सुरुमा यिनको प्रारम्भिक संस्करणहरू जापानमा बिक्रीमा राखिएका थिए । पछिल्ला मोडेलहरूले बालबालिकालाई शिक्षा र मनोरञ्जन दिने अनि बालबालिका बिरामी परे या कुनै कठिनाइ आइलाग्यो भने फोन वा अलार्मबाट बाबुआमालाई खबर गर्ने काम गर्न सक्छन् ।
विज्ञान-प्रविधिको विकासले असल-खराब जे गरोस्, एउटा कुराचाहिँ भन्नैपर्छ, अब विकसित मुलुकको समाजमा मानवीय स्पर्शभन्दा यन्त्रस्पर्श हावी हुनेछ ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.