News

Aug 21, 2009

सुजातालाई स्पष्टीकरण दिनका लागि 'अन्तिम मौका'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७- कांग्रेस संसदीय दलले परराष्ट्रमन्त्री सुजाता कोइरालाको लिखित जवाफ चित्तबुझ्दो नभएको र बैठकको निर्देशन अवज्ञा गरेको निष्कर्ष निकाल्दै स्ष्टीकरणका लागि अन्तिम मौका दिएको छ। मंगलबार बस्ने बैठकमा समते नआए सरकारमा पार्टीको नेतृत्व गरिरहेकी उनलाई मन्त्रीबाट फिर्ता बोलाइने जानकारी कांग्रेसको उच्च स्रोतले स्रोतले दिएको छ। दलको शनिबार बसेको बैठकले सुजातालाई निर्देशन उल्लंघन गरेको र प्रधानमन्त्रीसित भारत भ्रमणमा नगएकाबारेमा आगामी मंगलबार अनिवार्य उपस्थित भएर स्पष्टीकरण दिन निर्देश गरेको हो।परराष्ट्रमन्त्रीले आफू पूर्वनिर्धारित अर्कै कार्यक्रममा जानुपर्ने भएकाले दलको बैठकमा उपस्थित हुन नसक्ने लिखित जवाफ पठाएपछि कांग्रेस सभासद्हरू उनीप्रति आक्रोशित भएका थिए।दलले भारत भ्रमणमा नगएकाबारेमा स्पष्टीकरण दिन शनिबार अनिवार्य उपस्थित हुन शुक्रबार सुजातालाई पत्र पठाएको थियो। तर, उनी अर्कै कार्यक्रम छ भन्दै बैठक उपस्थित नभएकी हुन्।दलको बैठक बसेका बेला सुजाता विदेशीसितको भेटमा व्यस्त रहेको दाबी उनी निकट स्रोतले गरेको छ। तर, विदेशी को हुन् भन्ने स्रोतले खुलाएन। उनी भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री माधव नेपाललाई स्वागत गर्न अपराह्न त्रिभुवन विमानस्थल पुगेकी थिइन्।बैठकमा सभासद्हरूले दलको बैठक र निर्देशनभन्दा अर्को कुनै ठूलो कार्यक्रम हुन सक्तैन भन्दै दलले सर्वसम्मतिले पठाएको पत्रमा गैरजिम्मेवार जवाफ दिएकामा मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग गरेका थिए।'सुजाताले पठाएको जवाफप्रति संसदीय दलले चित्त बुझाउन सकेन। उहाँको पत्रले दलको अपमान र अवज्ञा गरेको छ' बैठकपछि सभासद् नरहरि आचार्यले संवाददाताहरूसित भने- 'उहाँलाई स्पष्टीकरणको अन्तिम मौका दिन दलले भदौ ९ गतेको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।दलका प्रवक्ता नवीन्द्रराज जोशीका अनुसार दलका तर्फबाट सचिव महेन्द्रध्वज जीसीले शनिबार नै स्पष्टीकरणपत्र सुजातालाई पठाएका छन्। दलको बैठकमा अधिकांश सदस्यले एक स्वरमा भदौ ९ गते पनि उनी स्पष्टीकरण दिन नआएमा मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग गरेका थिए। उपनेता प्रकाशमान सिंह, नरहरि आचार्य, पूर्णबहादुर खड्का, गगन थापा, कमला थापा, रमेश लेखक, रामकृष्ण यादवलगायतका सभासद्ले एकपटक अन्तिम मौका दिने, तर चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्नुपर्ने माग गरे।'पार्टीलाई विधिसम्मत ढंगले चलाउने हो भने दलको निर्देशन अवज्ञा गरेकामा सुजातालाई कारबाही गर्‍यौं, नगर्ने हो भने कांग्रेसमा विशेष अधिकारप्राप्त नेतासमेत छन् भनेर प्रस्ताव पारित गर्‍यौं' उनीहरूको भनाइ थियो।सभासद् पूर्णबहादुर खड्काले सुजाताले झैं अरू मन्त्रीले बिरामीको बहानामा प्रधानमन्त्रीसितको भ्रमणमा रद्द र दलको निर्णय अवज्ञा गरेको भए पार्टीले के गर्थ्यो भन्ने प्रश्न गर्दै भने- 'दलभित्र मान्छे हेरेर व्यवहार हुने हो भने कांग्रेस समाप्त हुन्छ।' सभासद् कमला थापाले दलको बैठकभन्दा अर्को कुनै पनि कार्यक्रम महत्वपूर्ण हुन नसक्ने उल्लेख गर्दै भनिन्- 'परराष्ट्र मन्त्री पाँचतारे होटलमा भएका कार्यक्रममा जानु, तर दलको निर्देशनको अवज्ञा गर्दै बैठकमा नआउनु दुर्भाग्यपूर्ण हो।'बैठकमा रामशरण महतले सुजाताबाट दलको निर्देशन अवज्ञा गरे पनि यो विवाद नलम्ब्याउन भन्दै समस्या समाधानको जिम्मा नेता पौडेल र उपनेता प्रकाशमान सिंहलाई दिउँ भन्ने प्रस्ताव राखेका थिए।त्यसको जवाफमा सभासद्हरूले दलको अवज्ञा भएको समस्या समाधानको जिम्मा दुई जनालाई दिएर नहुने र मैले 'सेफ ल्यान्डिङ' गरेको भनेर सभापति गिरिजाप्रसाद र छोरी सुजातासित साखुल्ले बन्न त्यस्तो प्रस्ताव राखेको भन्दै महतप्रति आक्रोश व्यक्त गरेका थिए।उपनेता सिंहले सुजाता नआएकामा आक्रोश व्यक्त गर्दै भने भने- 'कुनै एउटा व्यक्तिको टाइममा दल हिड्ने कुरा हुनै सक्तैन। त्यस्तो कुरा त राणाकालमा मात्र हुन्थ्यो।' उनले दलको पत्रको जवाफ चित्तबुझ्दो नभएपछि एक/दुई जनाले निर्णय गरेर हुँदैन दल नै एउटा टुंगोमा पुग्नुपर्ने धारणा व्यक्ता गरे।उनले सुजातालाई स्पष्टीकरणका लागि अन्तिम मौका दिन पुनः एकपटक पत्र पठाउनुपर्ने प्रस्ताव राखेपछि दलको सबैजसोले समर्थन गरेर ताली पिटेका थिए। उनकै प्रस्तावमा दोस्रोपटक पत्र पठाउने प्रस्ताव पारित भएको हो।बैठकमा नरहरि आचार्यले सुजाताको पत्रले दलबाट सर्वसम्मतिबाट पठाइएको पत्रको उपेक्षा गरेको र त्यो पार्टीलाई गम्भीर चुनौती बनेको बताए। 'दलका सर्वसम्मत निर्णय अवज्ञा गर्नेलाई नसिहत नदिने हो भने भोलि पार्टीमा सभासद्हरूबाट दलका नेता, प्रमुख सचेतकलगायतको ह्वीपसमेत उल्लंघन हुने प्रवृत्ति बढ्छ' उनले भने।सभासद् गगन थापाले सुजाताको पत्रबाट दलको अपमान भएको उल्लेख गर्दै भने- 'सर्वसम्मत निर्णय अवज्ञा हुनु पार्टी र दलको अपमान हो। अपमानित र लज्जित पार्टीले शान्ति प्रक्रियाको नेतृत्व गर्न सक्तैन।'उनले पार्टीको स्वाभिमान बचाउने हो भने दलको अपमान गरेकामा बैठकले सुजातालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने बताए। सभासद् नारायण खड्काले सुजाताको जवाफ हेर्दा उनी र उनका सहयोगीको बुद्धि नै नपुगेको देखिएको बताए।

No comments: