News

Aug 21, 2009

टोलीकै सदस्य भन्छन्- प्रधानमन्त्रीको भ्रमण असफल भयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, ४ भदौ,दिल्लीमा प्रधानमन्त्री माधवकुमार नेपालको तेस्रो तथा अन्तिम दिन पनि अलमलमै बितेपछि टोलीका धेरैजसो सदस्यले भ्रमण असफल भएको निष्कर्ष निकालेका छन् । दिल्लीयात्राका घोषित औपचारिक कार्यक्रम सकिएपछि बिहीबार साँझ जारी गर्ने भनिएको संयुक्त विज्ञप्ति पनि स्थगित भएको छ ।बुधबार दुई प्रधानमन्त्रीबीचको वार्तामा पनि सहमति हुन नसकेको व्यापार सन्धि जसरी पनि गराउन नेपाली टोली खटिरहेको छ । दिल्लीयात्राबाट केही न केही ठोस उपहार लिएर र्फकन इच्छुक प्रधानमन्त्री नेपालले कम्तीमा व्यापार सन्धि गरिदिन आग्रह गरेपछि भारतीय नेताहरूले समय मागेका छन् ।बुधबार रातिसम्म गरिएको प्रयास असफल भएपछि बिहीबार बिहान प्रधानमन्त्री नेपालले भारतीय अर्थमन्त्री प्रणव मुखर्जीलाई सन्धि गरिदिन विशेष आग्रह गरेका थिए । प्रधानमन्त्री नेपालले आफ्नो प्रतिष्ठाको विषय बनाएर सन्धिका लागि आग्रह गरेपछि भारत लचिलो भएको स्रोतको दाबी छ । तेस्रो मुलुकका सामान नेपाल हुँदै भारत निर्यात गर्न सकिने प्रावधानप्रति आपत्ति जनाउँदै आएको भारतले बीचको बाटोबाट समाधान खोज्न प्रस्ताव गरेको छ । 'भारतीय कम्पनीले तेस्रो मुलुकलाई अनुरोध गरेमा नेपाल हुँदै सामान भारत निर्यात गर्न सकिने व्यवस्था गर्न भारत सकारात्मक भएको छ,' अर्थमन्त्री सुरेन्द्र पाण्डेले बिहीबार साँझ सञ्चारकर्मीहरूसँग भने । यसका लागि पनि भारतले समय मागेकाले मुम्बईबाट फर्केपछि सन्धि हुनसक्ने अर्थमन्त्री पाण्डेले बताए । तर, बीचको बाटोमा पनि भारत 'सकारात्मक' मात्र भएकाले सन्धि हुन्छ नै भन्नेमा प्रतिनिधिमण्डलका धेरै सदस्य विश्वस्त छैनन् । गृहकार्य र समन्वयको अभावमा प्रधानमन्त्रीको भ्रमण फिका भएकोमा प्रतिनिधिमण्डलका अधिकांश सदस्य निरास छन् । टोलीका वरिष्ठ सदस्य तथा वाणिज्यमन्त्री राजेन्द्र महतोले नै यो भ्रमणलाई असफल बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे, तर उनले 'षड्यन्त्र' गर्नेको नाम किटेर भनेनन् । परराष्ट्रमन्त्री सुजाता कोइरालातर्फ इशारा गर्दैर् उनले नयाँ पत्रिकासित भने, 'भ्रमणको असफल बनानेका प्रयास हो रहा है, ये कौन कर रहा है, काठमाडौंसे दिल्लीतकका घटना देखके आप ही समझ सकते है ।' त्यसो त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले पनि भ्रमणका लागि गृहकार्य फितलो भएको स्विकारे । 'काठमाडौंमा तयारी त राम्रै भएको हो, तर अन्तिम अवस्थामा आएर केही थप्ने र केही झिक्ने भन्ने कुरा आएपछि अलमलै भयो,' उनले भने । गृहकार्य र समन्वयको अभाव दुवैतिर देखिएको भन्दै उनले यसका लागि नेपालीलाई मात्र दोष दिन नमिल्ने बताए । केही अन्योलबीच पनि प्रधानमन्त्रीको भारत भ्रमण सन्तोषजनक भएको मूल्यांकन उनले गरे । 'राजनीतिक रूपले सद्भावपूर्वक भएको छ, आर्थिक रूपले दुई हजार करोड सहयोग गर्न भारतले सहमति जनाएको छ,' उनले भने, 'हामीले पूर्वाधार विकासका लागि भारतबाट थप सहयोग पाउने भयौँ, यसलाई सफलता मान्नुपर्छ ।' पत्रकार युवराज घिमिरेले कुनै सन्धिमा हस्ताक्षर गर्दा देशभित्र विवादमा परिने र सन्धि नगर्दा सरकार कमजोर देखिने मनोवैज्ञानिक असरले प्रधानमन्त्री नेपाललाई अलमलमा पारेको टिप्पणी गरे । 'प्रधानमन्त्रीजीको मनमा पनि धेरै आशा थिए होलान्, तर नेपालभित्रैका राजनीतिक विवादको मनोवैज्ञानिक दबाब उहाँभित्र पनि थियो, त्यसको असर यता भारतलाई पनि परेको छ,' उनले भने । प्रधानमन्त्री हुनासाथ भारतको भ्रमण गर्ने परम्पराले निरन्तरता पाएको रूपमा यो भ्रमणलाई लिनुपर्ने उनको भनाइ छ ।उद्यमी अरुण चौधरी पनि प्रधानमन्त्रीको भ्रमणलाई सफल भन्न चाहँदैनन् । उनले भने, 'राजनीतिक रूपले सफल होला, तर आर्थिक रूपमा खासै उपलब्धि भएको छैन । त्यसैले भ्रमण सफल भन्न मिल्दैन ।' प्रतिनिधिमण्डलका सदस्य तथा तमलोपा सभासद् वृजेशकुमार गुप्ताले पनि नेपालमा सत्तापक्ष र प्रतिपक्ष तथा सत्तापक्षभित्रै पनि विवाद देखिएकोले भारतले यो सरकारलाई सहयोग गर्न हिच्किचाएको टिप्पणी गरे । 'खुलेर त किन भन्छन् र ? तर उनीहरूलाई पनि सबै थाहा छ, त्यसैले यो सरकारलाई कति सहयोग गर्ने भन्नेमा भारत आफैं पनि अन्योलमा पर्‍यो,' उनले भने ।सभासद् गुप्ताले भ्रमण सोचेजति सफल नभएको बताए । 'पञ्चेश्वर परियोजनाका लागि डिपिआर बनाउन ठोस निर्णय हुनुपथ्र्यो, तर हामीले त्यो कुरालाई दह्रोसँग राख्न सकेनौँ, त्यसैले सोचेजति उपलब्धि हुन सकेन,' उनले भने ।भारतमा राजकीय भ्रमणको रिपोर्टिङ गर्दै आएका साहरा समय टिभीका परराष्ट्र मामिला प्रमुख विजयन्द्र सिंहले त नेपाली प्रधानमन्त्री भारतमा 'बिचरा' भएको टिप्पणी गरे । 'मैले परराष्ट्रमन्त्री सुजाता कोइरालाको भ्रमणको समाचार पनि कभर गरेको थिएँ, उहाँले एसएम कृष्णासँग समकक्षीको रूपमा वार्ता गर्नुभयो,' 'उनले भने, 'तर प्रधानमन्त्रीहरूको वार्ता समकक्षीहरूको जस्तो भएन, मनमोहनले पनि उति महत्त्व दिएनन् ।'भारतका सबैजसो दलका नेता, केही मन्त्री र केही उद्यमी-व्यापारीसँग प्रधानमन्त्री नेपालले गरेको वार्ता भने निकै सुमधुर भएको टिप्पणी उनले गरे । 'दोस्तका रूपमा उहाँले निकै सद्भाव साँट्नुभयो, तर प्रधानमन्त्रीका रूपमा उहाँसँग कुनै एजेन्डा थिएनन्, त्यसैले ओज पनि रहेन,' उनले भने, 'प्रतिपक्षबाट मात्र होइन, सत्तापक्षबाटै पनि मलाई अहसयोग छ भन्ने अनुभूतिले उहाँलाई निरीह बनाएको छ ।'

No comments: