News

Aug 22, 2009

रोहित तिमिल्सिनाले गिनिज बुकमा नाम लेखाउन सफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोहित तिमिल्सिनाले 'गिनिज बुक अफ वल्र्ड रेकर्ड' मा नाम लेखाउन सफल भएका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबार आयोजित एक कार्यक्रमबीच रोहितले सो जानकारी दिएका हुन् । आइटिएफ मापदण्डको २१ वटा टेनिस बल एक हातमा उनले एकैसाथ १४ दशमलव ३२ सेकेन्डमै राखेपछि नयाँ विश्व रेकर्ड कायम गरे । यसअघि सो विश्व रेडर्क नाम गिनिज बुकमा समावेश गरिएको हो । उक्त मापदण्डको बलको तौल ५६ देखि ५८ ग्राम र डायमिटर २.५६ सेन्टिमिटर हुनुपर्छ । यसअघि यो विश्व कीर्तिमान फ्रान्सेली नागरिक अर्नान्ड डेस्चेम्पको नाममा थियो । अर्नान्डले १० सेकेन्डसम्म एक हातमा १९ वटा बल राखेर विश्व कीर्तिमान बनाएका थिए ।सन् २००८ को १४ जुनमा रोहितले विभिन्न प्रतिनिधिको उपस्थितिमा विश्व कीर्तिमान प्रदर्शन गरेका थिए । सोही प्रदर्शनको प्रकाशित समाचारको कटिङ, श्रव्यदृष्यको फुटेजलगायतका प्रमाणसहितको विवरण उनले गिनिज बुक अफ वल्र्ड रेकर्डको मुख्यालय लन्डनस्थित ड्रमन स्टि्रट पठाएका थिए । रोहितका अनुसार अगस्ट पहिलो साता आफ्नो नाम गिनिज बुकमा समावेश भएको आधिकारिक जानकारी बताए । 'गिनिज बुकमा नाम समावेश गर्न पाउँदा खुसी छु,' रोहितले भने । उनले यो प्रयासलाई निरन्तरता दिइरहने समेत बताए । सोही कारण आफ्नो नाम गिनिज बुकमा समावेश भए पनि सन्तुष्ट हुन नसकिएको टिप्पणी दिएका छन् । उनले भने, 'गिनिज बुकमा नाम समावेश भएकोमा खुसी छु, तर सन्तुष्ट छुइन, किनभने सन्तुष्टि भनेको सफलताको पूर्णविराम हो, अझ सफलता चाहन्छु ।' उनले भावी योजनाबारे खुलाशा गर्दै भने, 'नेपाललाई एउटै व्यक्तिको नाममा धेरै विश्व कीर्तिमान रहेको राष्ट्रको नामले चिनाउने इच्छा छ ।' उनको यस साहसिक प्रयासमा पिपल फेसले सहयोग गरेका थियो । पिपल फेस नामक संस्थामार्फत प्राप्त भएको प्रमाणपत्र राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष अजर मानन्धरले रोहितलाई हस्तान्तरण गरेका छन् ।

No comments: