News

Aug 21, 2009

बाढीपहिरामा परी १० को मृत्यु, ८ बेपत्ता सयौं विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५ - केही दिनयता लगातार वर्षापछिको बाढीपहिरामा परी पूर्वी तराई र पहाडमा १० जनाको मृत्यु भएको छ । बुधबार राति र बिहीबारको पहिरामा परेर तीन जिल्लामा मृत्यु भएकामध्ये ८ बालबालिका छन् । इलाममा ४ बालबालिकाको मृत्यु भएको छ भने झापामा ३ जनाको बगेर मृत्यु भएको छ । सिरहामा पनि बगेर ३ बालकको मृत्यु भएको हो । झापामा बगेर आठ जना बेपत्ता छन् । लगातार वर्षाले पूर्वी तराई र पहाडी क्षेत्र प्रभावित भएको छ । तराईमा जताततै डुबानको समस्या देखिएको छ भने पहाडी क्षेत्रमा पहिरो गएका छन् । बाढीले तराईका मोरङ, झापा, सुनसरीलगायतका सयौं बस्ती डुबानमा परेका छन् । हजारौं बिघाको धानबाली बाढीले लगेको छ । पहिरामा परी इलाममा चार बालबालिकाको मृत्यु भएको छ । महमाई र इरौटारमा गएको पहिरामा पुरिएर उनीहरूको मृत्यु भएको हो । महमाई ९ का सविरमान राईको घर पहिराले पुरिँदा दुई नाबालकको ज्यान गएको छ । मृत्यु हुनेमा तीन वर्षकी छोरी बिला र छ महिनाका छोरा विपन छन् । संगलु खोलाको किनारमा रहेको राईको घरमा मध्यरातमा पहिरो झरेको थियो । राई दम्पती पनि घाइते छन् । पीडित परिवारलाई तत्कालका लागि महमाई प्रहरी चौकीले ५ हजार नगद राहत दिएको सहायक निरीक्षक ढाकालाल अधिकारीले बताए ।
यसैगरी झापा सीमावर्ती इरौटारमा बुधबार राति गएको पहिरामा परी २ बालिकाले ज्यान गुमाए । इरौटार ८ बहुवनका सन्तबहादुर राईको घर पहिरामा पुरिँदा १२ वर्षीया फूलमाया र ९ वर्षकी अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाले मेची राजमार्गको कोलबुङ-लसुने खण्ड पहिरो झरेर अवरुद्ध भएको छ । पहिरो हटाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।

No comments: