News

Aug 17, 2009

भोटाहिटी दुर्घटनामा दुईटा कार संलग्न रहेको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ - छ जनाको ज्यान जाने गरी दुई साताअघि भएको सवारी दुर्घटनामा दुईटा कार संलग्न रहेको खुलासा भएको छ । उक्त वीभत्स कार दुर्घटनामा पाँच भारतीय र एक नेपालीको मृत्यु भएको थियो । मुख्य आरोपी विप्लवमानसिंह डंगोलको कारमा सवार सोजी श्रेष्ठको बयानपछि यो रहस्य खुलेको महानगरीय प्रहरी परिसर प्रमुख एसपी नवराज सिलवालले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका अनुसार एउटा कार मुख्य आरोपी खिचापोखरीका २० वर्षीय डंगोलले र अर्को क्षेत्रपाटीका शेखर अग्रवालले चलाएका थिए । डंगोलको कारले सबवे दुर्घटना गराउँदा अग्रवालको कार पछि रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनालगत्तै सबैजना अग्रवालको कारमा खिचापोखरीस्थित डंगोलको घर गएका थिए । ओमबहालका श्रेष्ठ ट्याक्सी चढेर ढल्कोस्थित साथीको घर पुगेकी थिइन् । शेखरको कारबाट अभिजित, राजपाण्डे र सुमनलगायत आआफ्नो घर गएका थिए । उनीहरू सबै गत बुधबार साँझ पुनः खिचापोखरीस्थित डंगोलको घरमा भेला भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाका साक्षी सोजीबाहेक अन्य प्रहरी सम्पर्कमा आएका छैनन् । परिवारजनले भोलिपल्ट राति डंगोललाई प्रहरीसमक्ष बुझाएका थिए । यसैबीच सम्बद्ध परिवारले दुर्घटनामा ज्यान गुमाएकाहरूको आर्यघाटमा सोमबार अन्त्येष्टि गरेका छन् । मृतकमध्ये एक नेपाली युवकको परिवारले पीडकबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । प्रहरीका अनुसार अन्यलाई पनि पालैपालो रकमको व्यवस्था गरेर पीडक पक्षले सहमति अनुरूप जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने छ । प्रहरी प्रशासनले मुख्य आरोपीलाई हत्या अभियोग लगाउने र ऐनबमोजिम क्षतिपूर्ति दिलाउने विश्वासमा शव परीक्षण र अन्येष्टि गरेको पीडित परिवारले कान्तिपुरलाई बताए । दुर्घटनामा मारिएका भारतीयका परिवारले अहिलेसम्म क्षतिपूर्ति र किरियाखर्च नपाएको बताएका छन् । प्रहरीले दुवै सहमतिअनुरूप क्षतिपूर्ति नदिए पीडक पक्षलाई थुनामा राखेर कारबाही गर्ने बताएको छ ।

No comments: