News

Aug 22, 2009

इरानका रक्षामन्त्री इन्टरपोलको सूचीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इरानका नवनियुक्त रक्षामन्त्री इन्टरपोलको गिरफ्तार गर्नुपर्ने व्यक्तिहरूको सूचीमा छन् । प्राप्त जानकारीअनुसार उनी १९९४ मा अर्जेन्टिनास्थित यहुदी केन्द्रमा बम आक्रमण गरेको अभियोगमा अन्तर्राष्ट्रिय प्रहरीको वान्टेडको सूचीमा परेका हुन् । इन्टरपोलले नवनियुक्त रक्षामन्त्री अहमद बाहिदी ब्युनस-आयर्समा भएको आक्रमणपछि २००७ देखि 'रेड नोटिस' मा थिए । सो घटनामा ८५ जनाको ज्यान गएको थियो । इन्टरपोलले कुनै व्यक्तिलाई पक्राउ गर्न न्यायिक प्राधिकारबाट आदेश प्राप्त गर्न यस्ता 'रेड नोटिस' आफ्ना एक सय ८७ सदस्य राष्ट्रमाझ पुर्‍याउँछ । इजरायल र अर्जेन्टिनाले अहमद बाहिदीलाई रक्षामन्त्री नियुक्त गरेकोमा चासो व्यक्त गरेका छन् । 'अहमेदिनेजादको अर्को कार्यले फेरि पनि उनी व्यवहार गर्न नसकिने व्यक्ति हुन् भन्ने कुरा देखाइदिएको छ,' इजरायली विदेश मन्त्रालयका प्रवक्ता एन्डी ड्याभिडले भनिन् ।'यो नियुक्ति अनौठो होइन, परन्तु उल्लेखनीय त हो नै,' अर्जेन्टिनाका न्यायाधिवक्ता अल्बर्टो निस्मानले भनेका छन्, 'इरानले सधैं नै आतंकवादीहरूलाई संरक्षण दियो । उनीहरूलाई सरकारी पदमा आसीन गरायो । उच्च पदमा आउने यिनी एकजना मात्र होइनन् ।'उता तेहरानले यस प्रकरणलाई 'यहुदीहरूले बुनेको कथा' भनेर इन्कार गरेको छ । इरानका विधायकहरूले अझै अहमेदिनेजादले प्रस्तावित गरेको २१ सदस्यीय मन्त्रिमण्डलको टुंगो लगाउन बाँकी नै छ । तर बाहिदीको मनोनयन भने अहमेदिनेजादले पश्चिमलाई दिएको झड्काको अर्को संकेत मानिएको संवाददाताहरूले उल्लेख गरेका छन् । अहमेदिनेजादको पहिलो कार्यकालमा उप-रक्षामन्त्री रहेका बाहिदीलाई ब्युनस-आयर्सस्थित इजरायल अर्जेन्टिना म्युचुअल एसोसिएसन भवनमा गरिएको बम आक्रमणमा संलग्न भएको आरोप लागेको छ । दोस्रो विश्वयुद्धपछि इजरायलबाहिर यहुदीलाई निसाना बनाइएको सबैभन्दा खतरनाक घटनाका रूपमा उक्त आक्रमणलाई लिइन्छ । बाहिदीले आक्रमणको समयमा इरानको रिभोल्युसनरी गार्डको एकाइको नेतृत्व गरेको र सो भवनमा आक्रमणको योजना बनाई आक्रमण गर्ने निर्णय लिनमा मुख्य सहभागिता जनाएको कुरा जनाइएको छ । उता इरानी राष्ट्रपतिका प्रेस सल्लाहकार अलि अकबर जवानफिक्रले उहिल्यै किन यस्तो कुरा नउठाइएको भनी प्रश्न गरेका छन् । उनले बाहिदी यसअघि उप-रक्षामन्त्रीजस्तो वरिष्ठ राजनीतिक पदमा भएकाले इरानमाथिको यो नयाँ चालबाजी हुन सक्ने बताएका छन् । इन्टरपोलले सम्बन्धित व्यक्तिमाथिको 'रेड नोटिस' राष्ट्रकै न्यायिक विषयवस्तु हो र आफूले ती राष्ट्रका प्रहरीलाई सहयोग मात्र गर्ने हो भनी स्पष्ट गरेको छ । उसले यस्तो 'रेड नोटिस' अन्तर्राष्ट्रिय पक्राउ आदेश भने नभएको बताएको छ ।

No comments: