News

Aug 21, 2009

अविरल वर्षाले पूर्वका सात विमानस्थल अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लगातार परेको अविरल वर्षाले पूर्वका सात विमानस्थल अवरुद्ध हुन पुगेका छन् । विमानस्थल अवरुद्ध भएपछि हजारौं हवाईयात्रु एक सातादेखि विराटनगरमा अलपत्र परेका छन् ।विमानस्थलको कच्ची धावनमार्गमा पानी जम्मा भएपछि गत बिहीबारदेखि पहाडी जिल्लाका नियमित उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ । विराटनगरबाट नेपाल वायुसेवा तथा काठमाडौंबाट यती, सीता, अग्निलगायत निजी विमान कम्पनीले उडान गर्दै आएको छ ।मौसम अनुकूल हुन नसक्दा खोटाङको लामीडाँडा, थामखर्क, भोजपुर, तुम्लिङटार र सोलुखुम्बुको फाप्लु विमानस्थल अवरुद्ध छ । प्राधिकरणका अनुसार, विमानस्थलको धावनमार्गमा पानीको सतह एक फिटसम्म जमेको र कतिपय धावनमार्ग भासिने भयले उडान प्रभावित बनेको हो ।त्यस्तै, ओखलढुंगाको रुम्जाटार विमानस्थलको धावनमार्ग एक महिनादेखि मर्मतसम्भार भइरहेकाले उडान हुनसकेको छैन । सो विमानस्थलको धावनमार्गमा खाल्डाखुल्डी परेपछि मर्मतसम्भार भइरहेको उड्डयन प्राधिकरण विराटनगरका प्रमुख सुधीर चौधरीले बताए । उनका अनुसार, सो विमानस्थलको मर्मतसम्भार तीव्र गतिमा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याइनेछ ।त्यस्तै, ताप्लेजुङको सुकेटार विमानस्थल १५ असारदेखि तीन महिनाका लागि बन्द रहेको छ । वर्षायाम सुरु भएपछि सुकेटार विमानस्थल हरेक वर्षको असार दोस्रो सातादेखि बन्द हुने गरेको छ । वर्षा सकिएपछि विमानस्थल पुनः सञ्चालनमा आउने उड्डयन प्राधिकरणले जनाएको छ ।विराटनगरबाट आइतबार नेपाल वायुसेवाले भोजपुर, थामखर्क, लामिडाँडा, सोमबार तुम्लिङटार, मंगलबार भोजपुर र रुम्जाटार, बुधबार फाप्लु, थामखर्क, लामिडाँडा, बिहीबार तुम्लिङटार तथा शुक्रबार थामखर्क, भोजपुर, लामिडाँडा नियमित उडान भर्दै आएको छ । उड्डयन प्राधिकरणका अनुसार, शनिबार कुनै पनि पहाडी क्षेत्रमा उडान हुँदैनन् ।यसैबीच, बुधबार मौसममा सुधार आएपछि विराटनगरबाट सोलुको फाप्लु र खोटाङको थामखर्कमा उडान सुरु भएको उड्डयन प्राधिकरण प्रमुख चौधरीले बताए ।

No comments: