News

Aug 22, 2009

गैंडाको खागसहित नेपाली सेनाका जवान पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, ६ भदौ : गैंडाको खागसहित नेपाली सेनाका एक जवान दार्चुलामा पक्राउ परेका छन् । दार्चुला जिल्ला वन र नेपाल प्रहरीको टोलीले खाग बरामद गरिएको होटलका सञ्चालकलाई पनि पक्राउ गरेको छ । सुराकीका आधारमा जिल्ला वन कार्यालयको टोलीले दार्चुला सदरमुकाम खलंगास्थित होटल हिमालबाट नेपाली सेनाका लेसनायक नयनसिंह ठगुन्ना र होटल सञ्चालक दानसिंह चैसिरलाई पक्राउ गरेको हो । सोही होटलको एक कोठामा दराजभित्र लुकाइराखेको अवस्थामा गैंडाको खाग पनि बरामद गरिएको छ । नयनसिंह होटल सञ्चालक दानसिंहका भिनाजु हुन् । सुराकीका आधारमा प्रहरीलाई होटल घेर्न लगाएर जिल्ला वन अधिकृत -डिएफओ) रमेश चन्दको नेतृत्वमा रहेको टोलीले खागसहित दुवैजनालाई समातेको हो । दराजभित्र कपडाले बेरेर राखेको अवस्थामा खाग बरामद गरिएको डिएफओ चन्दले बताए । बरामद गरिएको गैंडाको खागको तौल पाँच सय २५ ग्राम रहेको छ । पक्राउ गरिएका दुवैजनालाई जिल्ला वन कार्यालय दार्चुलाको हिरासतमा राखिएको छ । यसअघि पनि डिएफओ चन्दको टोलीले कञ्चनपुरबाट खागसहित माओवादी जनमुक्ति सेनाका जवानलाई पक्राउ गरेको थियो । उनी कञ्चनपुर जिल्ला कारगारमा छन् । पक्राउ परेका दुवैजनाले आफूहरू खागतस्कर नभएको दाबी गरेका छन् । नयनसिंह दार्चुला जिल्लाकै धाप गाविस-२ का बासिन्दा हुन् । उनी नेपाली सेनाको भैरहवास्थित ग्यारिज गणमा कार्यरत छन् । अहिले घरबिदामा दार्चुला पुगेको उनले बताए । भगवती गाविस-५ का दानसिंहले खलंगामा रहेको वन रेन्जपोस्टको छेउमै पाँच वर्षदेखि हिमाल होटल सञ्चालन गरिरहेका छन् । उनीहरूलाई छाड्न राजनीतिक दबाब आइरहेको चन्दले गुनासो गरे ।

No comments: