News

Aug 18, 2009

प्रधानमन्त्री भारत भ्रमणका लागि प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २ - प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दिने सदभावना भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको आरए २०५ नम्बरको उडानबाट प्रधानमन्त्रीसहितको भ्रमण टोली दिउँसो १२३० बजे भारतको दिल्लीतर्फ उडेको हो। प्रधानमन्त्री नेपालले भ्रमण सद्‌भावना भ्रमण मात्र भएको बताएका छन्। भारत प्रस्थान गर्नु अगाडि विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले आर्थिक एजेन्डामा सन्धी हुन सक्ने भए पनि अन्य विषयमा छलफल मात्र हुने जानकारी दिए। "नेपाल र भारत दुबै तर्फ भर्खरै नयाँ क्याबिनेट बनेका छन्, एक अर्कालाई बुझ्ने र सम्बन्ध विस्तार गर्ने विषयमा छलफल हुन्छ," प्रधानमन्त्री नेपालले भने, " वाणिज्य सन्धी र अनधिकृत व्यापार सम्झौताका विषयमा छलफल हुने छ।"पंचेश्वर भने भ्रमणको एजेन्डामा नपरेको प्रधानमन्त्री नेपालले स्पष्ट पारे। पन्चेश्वरका विषयमा प्राविधिक स्तरमा नै धेरै काम बाँकी छ प्रधानमन्त्री नेपालले थपे, "त्यस विषयमा कुनै सम्झौता र निर्णय हुने छैन।"प्रधानमन्त्री नेपालले छलफल भने धेरै विषयमा हुने जानकारी दिए। सिमाका विषयमा पनि कुरा हुन्छ ? भन्ने जिज्ञासामा प्रधामन्त्रीले 'सर्टआउट हुन्छ' भन्ने छोटो प्रतिक्रिया दिएका थिए।भ्रमण टोलीमा समावेश भए पनि परराष्ट्रमन्त्री सुजाता कोइरालाले अस्वस्थताको कारण देखाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेकी छिन्। कोइरालाका प्रमुख स्वकीय सचिव भरत सापकोटा पनि भ्रमण दलमा छैनन्। कोइरालाले अस्वस्थताको कारण जनाए पनि उप प्रधानमन्त्री पद नदिइएका कारण उनी भ्रमण दलका सरिक नभएको स्रोतहरुले बताएका छन्।

No comments: