News

Aug 22, 2009

सत्तारूढ नेकपा एमालेमा तेस्रो समूहको उदय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७- सत्तारूढ नेकपा एमालेमा अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओलीबीचको विवाद चर्किंदै जाँदा पार्टीमा तेस्रो समूह पनि बन्न थालेको छ। पार्टीका वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री बनेपछि बन्न थालेको तेस्रो धारले बिस्तारै आकार लिँदै गएको छ। अध्यक्ष खनाल र नेता ओलीमध्ये कुनै एकको सल्लाहमा भन्दा पनि दुवै पक्षलाई समन्वय गर्दै अघि बढ्ने क्रममा प्रधानमन्त्री नेपालको छुट्टै समूह बन्दै गएको हो।पार्टीमा अहिले खनाल, नेपाल र ओलीको तीन समूह स्पष्ट रूपमा देखिन थालेको छ।पार्टीको बुटवलमा भएको आठौं अधिवेशनमा पूर्व महासचिव नेपालले ओलीलाई समर्थन गरेका थिए। त्यसले केन्द्रीय कमिटीमा नेपाल-ओली पक्षको बहुमत बन्न पुगेको हो।
नेपालको समर्थन पाउँदा-पाउँदै पनि ओली अध्यक्ष पदमा विजयी भने हुन सकेनन्। महाधिवेशनदेखि नै नेपाल-ओली गठबन्धन रहँदै आएको हो। त्यसैको परिणामस्वरूप नेपाल प्रधानमन्त्री समेत बन्न पुगे।
प्रधानमन्त्री बनेपछि उनलाई खनाल र ओली दुवैले दबाब दिन थाले। गठबन्धन बनाउने भूमिकाका कारण ओली प्रधानमन्त्री नेपाल आफू अनुसार चल्नुपर्ने भन्दै 'सल्लाह' दिन थाले।यता अध्यक्ष खनालले पार्टीको सिफारिस र निर्णयमा नेपाल प्रधानमन्त्री भएकाले आफनो निर्णय मान्नुपर्ने दबाब दिन थाले। पार्टीबाट क-कसलाई सरकारमा पठाउने भन्ने विषयमा समेत विवाद बढ्यो। अन्ततः तीनै समूहको २/२ जनाको दरले मन्त्रिपरिषद्मा सहभागी गराइयो।

No comments: