News

Aug 30, 2009

सरकारी बेवास्ताले हङकङमा भिसा खुल्न सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, भदौ १५ - ज्याला, सुविधा र सुरक्षाका दृष्टिकोणले समेत हङकङ महिला घरेलु कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ ।नेपाल सरकारका तर्फबाट बेवास्ता गरिंदा आफ्ना प्रयासले ठोस उपलब्धि हासिल गर्न नसकेको भिसा खुलाउन प्रयासरत यहाका संघसस्थाको ठम्याई छ । बिग्रँदो राजनीतिक परिस्थिति र अवैध बसोबासको कारण देखाउँदै २०६२ जेठ २४ देखि हङकङ अध्यागमन विभागले व्यापार, तालिम, अध्ययन लगायत रोजगारी भिसामा एकैपटक रोक लगाएको हो ।नेपाली घरेलु कामदार युनियनकी अध्यक्ष माया राई कैयौंपटक भीसा खोल्न अनुरोधसहितका ज्ञापनपत्र कार्यकारी प्रमुख लगायतका उच्च अधिकारीलाई बुझाएको बताउँछिन् । 'नाराजुलुस र धर्ना समेत बसियो' तेह्र बर्षअघि घरेलु कामदारका रुपमा यहाँ आएकी अध्यक्ष राईले भनिन्, 'आफ्नै देशले चासो नदिएपछि एक्लै लडेर नहुँदोरहेछ ।' हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष हेजेन राई सबै कुराले उत्तम मानिएको हङकङमा सरकारले ठोस पहल गर्न नसक्दा हजारौंको भरपर्दो आर्जन हुने बाटो बन्द भएको बताउँछन् ।
'हामीले दबाव सिर्जना गर्ने बाहेक के नै गर्न सक्छौ र ?,' अध्यक्ष राईले भने 'आधिकारिक तवरले कुरा राख्ने सरकार नै पछि सरेपछि हाम्रा कुरा मात्र के सुन्थे र ।' हङकङ भ्रमणमा आएका अधिकांश मन्त्री र राजनीतिक दलका नेतालाई भिसा खुलाउन कुटनीतिक पहलका लागि आग्रह गरिएको समेत उनले बताए । 'यहाँ आउँदा हुन्छ, पहल गर्छौ भन्छन उता पुगेपछि विर्सन्छन् ।' राइले भने, 'लाखौंले रोजगारी पाएका ठाउँमा हाम्रा पुर्खाले त्यत्रो योगदान पुर्‍याएका देशमा हामी नै वञ्चित हुनुपर्ने विडम्बना हो ।' हङकङ सरकारले नेपाललाई अन्य मुलुक सँग दाज्न नमिल्ने समेत उनले बताए । आफ्ना कमीकमजोरी केलाउने बाचासहित यहाँका सरकारसमक्ष कूटनीतिक पहल गरे भिसा खुल्नसक्ने प्रशस्त आधार छन्' उनले भने । हङकङस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल भने दूतावासका पहलमा कार्यकारी प्रमुख लगायत यहाँका उच्चपदस्थ अधिकारीसमक्ष बारम्बार भिसा खोल्न आग्रह गरिएको बताउँछन् । 'उनीहरू अनधिकृत रूपमा हङकङ बसेकाको तथ्यांक देखाई उचित समयमा पुनरावलोकन हुने बताउँछन्,' लम्सालले भने, 'भिसा बन्द गर्ने बेला नेपालको राजनीतिक परिस्थिति समेत जोडिएकामा हाल त्यसमा सुधार आए पनि अवैधानिक तवरले हङकङ बसेकाको संख्यामा कमी नआउनु नै भिसा नखुल्नुको प्रमुख कारण हो ।' दूतावासको पहलबाट मात्र समस्या समाधान हुने अवस्था नदेखिएकाले उच्चस्तरबाटै कूटनीतिक पहल हुनुपर्ने लम्सालले बताए । तथापि बेलामौकामा हङकङ भ्रमणमा आउने मन्त्री लगायत सचिवस्तरीय भेटघाटमा भिसा खुलाउन आग्रह गरिए पनि जपाफ एकैनासको आउने गरेको समेत उनले बताए । हङकङमा घरेलु कामदारको न्यूनतम पारिश्रमिक प्रतिमहिना ३५८० हङकङ डलर (करिब ३५ हजार रुपैयाँ) तोकिएको छ । तर तोकिएको तलब भन्दा कममा काम गर्ने नेपाली उल्लेख्य संख्यामा रहेको कामदार युनियनकी अध्यक्ष राईले बताईन् । 'मालिकलाई रिझाएका र पुराना कतिपयले तोकिएको भन्दा आकर्षक पारिश्रमिक पाएका पनि छन्,' उनले भनिन् । झन्डै दुई लाख पचास हजार घरेलु कामदार रहेको हङकङमा करिब आठसय नेपाली रहेको अध्यागमनको तथ्यांकमा उल्लेख छ । अवैधरुपमा बसी काम गर्ने नेपाली घरेलु कामदारहरुको संख्या समेत तीन सयको हाराहारीमा हुनसक्ने युनियनकी अध्यक्ष राईले बताइन् । 'इमानदार, लगनशील र सोझोपनका छवि बनाएका नेपालीका माग अहिले पनि उत्तिकै छ,' टपवन इम्प्लोइमेन्ट एजेन्सीका रिकी लाइले भने, 'भिसा खुले, माग अरूका भन्दा कम हुने छैन ।' उनी एक दशकअघिदेखि म्यानपावर व्यबसायमा संलग्न स्थानीय चिनियाँ हुन् । तथापि बिना तालिम आउनेले विभिन्न कठिनाई व्यहोनु पर्ने हुँदा आउनुपूर्व उचित प्रशिक्षण लिनैपर्नेतर्फ उनले सचेत गराए । डेनियल इम्प्लोइमेन्ट एजेन्सीका सुरज गुरुङ अर्धदक्ष नेपाली कामदार भित्रिनु समेत भिसा बन्द हुनुको कारण बताउँछन् । 'कामै नजान्नेलाई समेत पहिलो नम्बरको प्रमाणपत्र दिएर पठाइयो,' गुरुङले भने, 'यहाँ आएपछि सो बमोजिम गर्न नजान्दा साहुले राख्न मानेनन् ।' यस्ता कामदारको संख्या बढ्दै गएपछि कतिपय निकालिएका कामदार अवैधानिक रुपमा बस्न थालेको उनले बताए । समस्या बढ्दै गएपछि अध्यागमनले कडाइ गर्न बाध्य हुनुपरेको उनको ठम्याई छ । 'खाडी मुलुकमा बारम्बार सुनिने यौनजन्यलगायत घटनाका तुलनामा हङकङ सुरक्षित छ,' युनियनकी अध्यक्ष माया राईले भनिन् । मानव अधिकार र कानुनी सचेतनाका कारण यौनजन्य घटना अत्यन्तै न्यून रहे पनि भिसा बन्दसँगै आर्थिक शोषण, दबाब र रोजगारी असुरक्षा बढेको राई बताउँछिन् । 'काम चित्त नबुझी छाड्नु परेमा दुई साताभित्रै नयाँ मालिक खोज्नुपर्ने नियमले काम नपाउनेहरू नेपाल र्फकन वा यथास्थानमै कम पारिश्रमिकमा काम गर्न बाध्य छन्' उनले भनिन् । समयमा काम नपाएर र्फकन नचाहने नै अधिकांश अबैधानिक तवरले बसेको उनले बताईन ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.