News

Aug 18, 2009

बाढी र पहिरोले पाँचजनाको मृत्यु हजारौं परिवार विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ भने हजारौं परिवार विस्थापित भएका छन् ।पहिरोले घर बगाउँदा बैतडीमा दुई, डडेल्धुरामा दुई र सुर्खेतमा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे आएको पहिरोले घर पुरिँदा बैतडी सिद्धेश्वर- ३ मा एकै घरका आठ वर्षीय शंकर ऐर र पाँच वर्षीया पार्वतीको मृत्यु भएको हो । सो परिवारका अन्य दुईजना घाइते भएका छन् ।त्यस्तै, डडेल्धुरा अमरगढी- ५ का सजन थापाको घर पहिरोले पुर्दा उनका तीन वर्षीय छोरा गणेशको मृत्यु भएको छ । गणेश, उनकी श्रीमती वसन्ती, छोरी शर्मिला र छिमेकी ललित गुरुङ घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।यसैगरी, अविरल वर्षापछि झुप्रा खोलामा आएको बाढीले बगाएर ५२ वर्षीय वृद्धको मृत्यु भएको छ । वृद्धको शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेत ल्याएको र उनको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । वर्षाले कैलाली जलमग्न भएको छ । वर्षाका कारण यहाँका हजारौं परिवार विस्थापित भएका छन् । विस्थापित परिवार विद्यालय र अग्ला स्थानमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।कैलालीको धनगढी र टीकापुर नगरपालिका, हसुलिया, भजनी, रतनपुर, पवेरा, प्रतापपुर, मनुवा, खैलाड, गेटा, श्रीपुर, मसुरिया, पहमानपुर, गदरिया, फूलबारी, रामशिखरझाला, चुहालगायतका दर्जनभन्दा गाविस गाँउहरू डुबान परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।धनगढी र टीकापुर नगरपालिका आसपासका क्षेत्र र गेटा, रतनपुर, पबेरा, भजनी, खैलाडलगायतका गाविस भने उच्च जोखिममा परेका छन् । पहलमानपुरमा बाढीले विद्युत सेवासमेत अवरुद्ध भएको छ । घर भत्किएपछि पहलमानपुरका बासिन्दा विद्यालयमा आश्रय लिएर बसेका छन् ।

No comments: