News

Aug 22, 2009

एयर मार्सल राख्ने भारतीय प्रस्ताव हस्तक्षेपउन्मुख व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६ - राष्ट्रिय सुरक्षा परिषद सचिवालयले नेपाली भूमिमा हातहतियारसहितका एयर मार्सल राख्ने भारतीय प्रस्तावलाई 'हस्तक्षेपउन्मुख व्यवहार' को संज्ञा दिएको छ । भारतले विमान र यात्रुलाई अपहरणको खतराबाट जोगाउने बहानामा राखेको यस्तो प्रस्ताव राष्ट्रियतासँग सम्बद्ध भएकाले सूक्ष्म अध्ययन गर्न प्रधानमन्त्रीलाई सुझावसमेत दिएको छ । 'नेपालबाट भारतीय भूमिमा उडान भर्ने भारतीय जहाजहरूमा १० वर्षदेखि भारतीय सुरक्षाकर्मीबाट हुँदै आएको अनौपचारिक सुरक्षा जाँचलाई वैधानिकता दिन प्रस्ताव आएको देखिन्छ,' रक्षा उच्चस्रोतबाट प्राप्त सचिवालयको ३ सय ३७ नम्बरको विशेष विश्लेषण प्रतिवेदनमा भनिएको छ । सरकारलाई सुरक्षासम्बन्धी सल्लाह दिन गठित सचिवालयमा रक्षासचिव संयोजक, सेनाका उपरथी सहसंयोजक, सेनाकै सहायक रथी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक, जनपद र सशस्त्र प्रहरीका डीआईजी सदस्य छन् । प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको पूर्वसन्ध्यामा साउन २७ गते प्रस्तुत प्रतिवेदनमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन -इकाओ) को हवाला दिँदै गरिएको यस मागलाई कार्यान्वयनमा लैजाँदा थुप्रै जटिलता सिर्जना हुने जनाइएको छ । साथै वर्तमानको संक्रमणकालीन राजनीतिक अवस्थामा प्रतिपक्षी दलहरूले यो मुद्दालाई सरकारविरुद्ध प्रयोग गर्ने सम्भावना प्रबल रहेको औंल्याइएको छ । प्रधानमन्त्री कार्यालयमा गत भदौ २ मा बुझाइएको सचिवालयकै ३ सय ३८ नम्बरको अर्को विशेष विश्लेषण प्रतिवेदनमा भारत भ्रमणमा उच्च सावधानी अपनाउन सुझाव दिइएको छ । विगतका भ्रमणहरूको तीतो यथार्थ र प्रलोभनयुक्त आश्वासनका बाबजुद परिणामविहीन अवस्थामै रहनुपरेको औंल्याउँदै प्रतिवेदनमा भनिएको छ, 'यसबाट जनस्तरमा देखिएको तिक्तता र चासोलाई राष्ट्रिय हितमा उपयोग गर्ने गरी खबरदारीको रूपमा लिनुपर्छ ।' 'यसरी नै आन्तरिक एवं बाह्य साझा मुद्दामा समान दृष्टिकोण हुनुपर्नेमा दलगत एवं गुटगत स्वार्थका कारण बढ्दै गएको मतभेदले मुलुकलाई नै दुर्घटनातर्फ अग्रसर गराउन सक्नेतर्फ सबै पक्षको ध्यान जानु जरुरी छ,' भदौ २ को प्रतिवेदनको निचोड छ ।

No comments: