News

Nov 2, 2009

खप्परबेचुवा डा. दिङ वेनलाई तीन लाख युआन जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुनियाँमा मानव-खप्परको व्यापार अवैध मानिएको छ । तैपनि, गुप्त रूपमा मानव-खप्परको तस्करी रोकिएको छैन । चीनजस्तो फलामे सामाजिक अनुशासन भएको र कडा कानुन भएको मुलुकमा पनि त्यस्तो तस्करी हुने रहेछ । मानव-शव उत्खनन गरिएको, खप्परको व्यापार हुने गरेको र केही तान्त्रिकले मानव-खप्परलाई मसान जगाउन वा प्रेत साध्न प्रयोग गरेका समाचार भारतीय सञ्चारमाध्यममा बेलाबखत आइरहन्छन् । पाठकलाई थाहै छ, एक-दुई वर्षअघि मात्रै एक प्रसिद्ध भारतीय योगीले उत्पादन गरेको आयुर्वेदिक औषधीमा मानव-खप्परको धुलो मिसाइएको आरोप लागेको थियो । त्यस प्रकरणले एक प्रकारको सनसनी मच्चिएको थियो । आखिर केका लागि मानव-खप्परको उपयोग हुन्छ ? दुनियाँमा मानव-खप्परको व्यापार अवैध मानिएको छ । तैपनि, गुप्त रूपमा मानव-खप्परको तस्करी रोकिएको छैन । चीनजस्तो फलामे सामाजिक अनुशासन भएको र कडा कानुन भएको मुलुकमा पनि त्यस्तो तस्करी हुने रहेछ । त्यस्ता काममा प्रभावशाली नेता र प्रशासनिक क्षेत्रका अधिकारीको संरक्षण मिल्ने गरेको बताइन्छ । आश्चर्यको कुरा त के छ भने प्राज्ञिक उचाइ हासिल गरेका व्यक्तिहरूसमेत त्यस्तो अवैध कारोबारमा संलग्न हुने रहेछन् । यस्तै ताजा प्रसंग हो, पिएचडी उपाधिधारी एक चिनियाँमूलका अमेरिकीलाई मानव-खप्परको खरिद-बिक्री गरेको अभियोगमा आठ वर्षको जेल-सजाय सुनाइएको प्रसंग । ती ४४ वर्षे डा. दिङ वेनलाई तीन लाख युआन (४४ हजार अमेरिकी डलर) जरिवानासमेत तोकिएको छ । सो फैसला बेइजिङको नं. १ इन्टरमिडियट अदालतले सुनाएको हो । अभियुक्तका वकिल झाओ युनहङका अनुसार दिङले २००४ देखि पान्जियावान बजारबाट मानव-खप्परको खरिद गर्न थालेका थिए । त्यसपछि उनले एकजना शिल्पकारलाई खप्परमा चित्र कोर्ने काममा लगाए र त्यस्ता कलात्मक खप्पर निकै महँगो मूल्यमा विदेशमा बेच्न थाले । २००६ को अगस्तदेखि २००८ को फेब्रुअरीसम्म उनले चिङहाई प्रान्तका दुईजना किसानबाट १३ सयवटा मानव-खप्पर किनेका थिए र प्रत्येक खप्परको मोल ८० देखि एक सय ६० युआन अर्थात् १२ देखि २३ डलर परेको थियो । बेइजिङ टाइम्सका अनुसार उनले त्यस्ता दुई सय मानव-खप्पर विदेशमा बेचेर १९ हजार अमेरिकी डलर कमाएका थिए । अभियुक्त पिएचडी महाशयका वकिलले जानकारी दिएअनुसार उनले बेइजिङ उच्च अदालतमा पुनरावेदन दिएका छन् र तीन हप्तामै उनको पुनरावेदनमाथि सुनुवाइ हुने भएको छ । बेइजिङस्थित एक सूचना परामर्श कम्पनीका परामर्शदाता दिङ चाङपिङमा बसिआएका थिए । उनी गत वर्ष जुनमा पक्राउ परेका थिए । उनको घरको खानतलासी गर्दा प्रहरीले ११ सय मानव-खप्पर फेला पारेको छ । एक महिनाजति अघि बेइजिङस्थित अमेरिकी अनुसन्धान संस्था एफबिआइले सार्वजनिक सुरक्षा मन्त्रालयलाई एक पत्र लेखी बेइजिङबाट इएमएसमार्फत पठाइएको एक पुलिन्दामा अज्ञात मानव-खप्पर फेला परेको हुनाले त्यसको अनुसन्धान गर्न सहयोगका लागि आग्रह गरी पत्र पठाएको थियो । अदालतका सूचना अधिकृत गुओले दिङको बेहोरा मानवद्वेषी मात्र नभई मानवमूल्यविपरीत पनि रहेको र यसले बजारको अनुशासनलाई समेत असर पारेको बताए । उता दिङले चाहिँ त खप्पर नाफा कमाउनका लागि नभई आफ्नो संकलन तथा मित्रहरूलाई उपहार दिनका लागि मात्र भएको दाबी गरेका छन् । दिङका वकिलले यसबाट चिनियाँ कानुनको उल्लंघन भए तापनि मानव-खप्पर उपभोग्य वस्तु नभएको र चिनियाँ बजारमा तिनको व्यापारिक मूल्य नरहेको हुनाले मुलुकको आर्थिक अनुशासन तोड्ने प्रश्नै नआउने धारणा व्यक्त गरे । उनको जिरह थियो— 'त्यसैले उनीमाथि अवैध व्यापार गरेको मुद्दा लाग्न सक्तैन ।' उनले दिङको व्यवहार मर्यादाअनुकूल नभएको र मृत मानिसप्रति उनले सम्मान नदेखाएको भने स्वीकार गरे । दिङले यी खप्पर विदेशमा बेची मुनाफा कमाएका हुन् भने उनीमाथि अवैध कारोबारको मुद्दा लाग्ने विचार चीनको राजनीतिक विज्ञान तथा कानुन विश्वविद्यालयका प्रोफेसर होङ दाओदेको छ । एक प्रख्यात संकलक मा वेइदुले मानव-अंगको संकलन गर्दा यसबाट मृत मानिसहरूको सम्मानमा चोट पुग्ने हुनाले त्यस्ता वस्तुको संकलन गर्नु उपयुक्त हुदैन ।

No comments: