News

Dec 30, 2009

सरकारले स्विकृति नदिएपनि ११ कक्षामा लिम्बू भाषाको पढाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचथर, २०६६ पुस ८ - पाँचथरको इम्बुङस्थित सत्यहाङमा उच्च माद्यमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा लिम्बू भाषाको पढाइ थालिएको छ । सरकारले लिम्बू भाषा शिक्षणको लागि उच्च माविमा पाठ्यक्रम तथा स्विकृति नदिए पनि स्थानीय प्रयासमा मुलुकमै पहिलो पटक पढाइ सुरु गरिएको हो । सरकारले उच्च शिक्षामा लिम्बू भाषालाई मान्यता दिनु पर्ने माग राख्दै ११ कक्षामा अभियानको रुपमा लिम्बू भाषाको कक्षा थालिएको भाषा शिक्षक महेन्द्र नेम्बाङले बताए । लिम्बू साहित्यकार थाम्सुहाङ पुष्प सुब्बाले तयार गरेको पाठ्यक्रम अनुसार पुस्तकको पाण्डुलिपीको आधारमा पढाइ भइरहेको उनले बताए । साहित्यकार भवानी तावाका अनुसार ११ को पाठ्यक्रममा सिक्किम र नेपालका १६ जना कविहरुको लिम्बू कविता संग्रह तथा कथा, निबन्ध र नाटक समेटिएका लिम्बू पुस्तकहरु छन् । विद्यार्थीले लिम्बू साहित्य र सिद्धान्त, रस, छन्द र अलंकार तथा पदमसिंह मुरिंग्लाको उपन्यास 'थथामा' पनि पढ्नु पर्ने उनले बताए । तयार भएको पाण्डुलिपि विद्यालयले नै छाप्ने तयारीसमेत गरेको छ । विद्यालयले ११ कक्षामा लिम्बू भाषाको पठनपाठन सुरु गरे पनि परीक्षा दिने व्यवस्था भने हालसम्म छैन् । यसअघि किराँत याक्थुङ चुम्लुङले उच्च शिक्षाका लागि पाठ्यक्रम तयार गरेर बुझाएपछि त्रिभुवन विश्वविद्यालय परिषद्ले अन्तिम निर्णय गरेपनि थन्किएको चुम्लुङको मुखपत्र 'तान्छोप्पा'का सम्पादक अमर तुम्याहाङले बताए । उनका अनुसार विश्वविद्यालयले स्वीकृति दिइसकेको अवस्थामा सरकारी नीति बमोजिम भाषा शिक्षणलाई प्रोत्साहन गर्नु जरुरी छ । सञ्चालित लिम्बु भाषा शिक्षणमा लिम्बू, सार्की, ब्राम्हणसहित ३५ विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । सरकारले भाषा पठनपाठनलाई ऐच्छिक विषयको रुपमा कक्षा पाँचसम्म मान्यता दिए पनि उक्त विद्यालयमा यसअघि नै आठसम्मको पढाइ भइरहको छ ।

No comments: