News

Dec 11, 2009

माओवादीद्वारा कोचिला र लिम्बूवान गणराज्य घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा मंसिर २६- अन्य राजनीतिक दलको तीब्र विरोधका बावजुद माओवादीले स्वायत्त गणराज्य घोषणा सुरु गरेको छ। जसअन्तरगत उसले शुक्रबार झापाको बिर्तामोडबाट कोचिला र तेह्रथुमबाट लिम्बूवान स्वायत्त गणराज्य घोषणा गरेको हो। तत्कालीन प्रधान सेनापति रुक्माङगत कटवाल प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले चालेको कदमविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको माओवादीले गणराज्य घोषणा गरी सङ्घीय राज्य स्थापनाका निम्ति दबाब दिएको जनाएको छ। 'सङ्घीय राज्य निर्माण नगर्ने षडयन्त्र भइरहेको छ', झापा, मोरङ र सुनसरीलाई कोचिला स्वायत्त गणराज्य घोषणा गर्न विर्तामोडमा आयोजित कार्यक्रममा माओवादी नेता नेत्रविक्रम चन्दले भने – 'त्यसैले दबाबका लागि गणराज्य घोषणा गरिएको हो।' यसलाई देशभर निरन्तरता दिइने चन्दले जानकारी दिए। यसअघि दोस्रो चरणकै आन्दोलनमा गणराज्य घोषणा गर्ने कार्यक्रम तय गरे पनि माओवादीले त्यसले अप्ठ्यारो स्थिति सिर्जना गरेको भन्दै तत्काललाई घोषणा स्थगन गरेको थियो। प्रचारात्मक कार्यक्रम मात्रै भएको भन्दै माओवादीले त्यसबेला फिर्ता लिए पनि गणराज्य घोषणा कार्यक्रम यथावत् रहेको बताएपछि अन्य दलले संविधानसभाको अवमूल्यन भएको भन्दै विरोध गरेका थिए। तर, माओवादीले त्यसको प्रवाह नगरी गणराज्य घोषणा थालेको हो। माओवादीले कोचिला गणराज्य घोषणा गरेको झापा, मोरङ र सुनसरीलाई आफ्नो राज्य दाबी गर्ने लिम्बूवान सङ्गठनहरुले पनि माओवादी कदमको आलोचना गरेका छन्। “अरुण पूर्वका ९ जिल्ला लिम्बूवानमा पर्दछन्” मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन भन्छन् – हामी यो घोषणा स्वीकार गर्दैनौं।” तर, माओवादी मत भने बेग्लै छ। “जातीय मुक्तिका लागि पनि यो जरुरी छ”– नेता नेत्रविक्रम चन्दले भने।शुक्रबार माओवादीले बिर्तामोडमा मुख्य राजमार्ग ५ घण्टाभन्दा बढी अवरुद्ध पार्दै कोचिला गणराज्य घोषणा गरेको हो। सशस्त्र आन्दोलनकालमा झापा, मोरङ र सुनसरीलाई कोचिला क्षेत्र नामाकरण गर्दै सङ्गठन विस्तार गरेको माओवादीले तीन जिल्लालाई कोच राज्य घोषणा गरेको हो। अहिले यी तीन जिल्लामा कोचहरुको जनसङ्ख्या झण्डै सवा लाख छ। कोचमा राजवंशी, धानुक, गनगाई र ताजपुरिया जाति पर्दछन्। कोचिला गणराज्य घोषणासभामा सहभागी हुन माओवादीले तीन जिल्लाबाट बसमा सर्वसाधारण ओसारेका थिए। वाइसीएलको बाक्लो सुरक्षा घेराभित्र आयोजित घोषणा सभामा १५ वटा मैन बत्ती बालेर माओवादीले जातीय एकताको प्रतीक भनेका थिए। हरिबोल गजुरेल, झलक दर्लामी, गौरीशङ्कर खड्का, पूर्णसिंह राजवंशीलगायतका नेता सभामा सहभागी थिए। माओवादी स्रोतका अनुसार कोचिला स्वायत्त गणराज्य प्रमुखमा पूर्णसिंह राजवंशी तोकिएका छन्। द्वन्द्वकालमा कोचिला मुक्ति मोर्चाका अध्यक्ष रहेका उनी झापा क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् हुन्। कङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि राजवंशी चर्चित बनेका थिए। २०५७ देखि उनी माओवादीमा आबद्ध छन्। त्यस्तै तेह्रथुमबाट घोषित लिम्बूवान गणराज्य प्रमुखमा श्रीप्रसाद जबेगु तोकिएको माओवादी स्रोतले जनाएको छ।

No comments: