News

Dec 30, 2009

दशरथ रङ्गशालामा नेवाः स्वायत्त राज्य घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङ्बुङ
पुस ११ २०६६ ,आदिवासी नेवार जातिले २०६६ पुस ११ गते दशरथ रङ्गशाला काठमाडौंमा एक विशाल कार्यक्रमको आयोजना गरी नेवाः स्वायत्त राज्य घोषणा गरेका छन् । विभिन्न राजनीतिक पार्टी सम्वद्ध संघसंस्था तथा नेवारहरुको जातीय संगठनहरुको संयुक्त गठबन्धन नेवाः स्वायत्त मङ्काः संघर्ष समितिले नेपाल सरकारसमक्ष नेवाः स्वायत्त राज्यको संवैधानिक सुनिश्चिता गर्नुपर्ने माग राखेर उक्त विशेष कार्यक्रम आयोजना गरी नेवाः स्वायत्त राज्य घोषणा गरेको हो।यसरी नेवाः स्वायत्त राज्यको घोषणा गर्दा काठमाडौंको दशरथ रङ्गशालामा नेवार समुदायको भव्य उपस्थिति रहेको थियो । शहीदहरुको सम्झनामा एक मिनट मौन धारण गरी सुरु गरिएको सो घोषणा सभामा पहिले नेपालको राष्ट्रिय गान 'सयौं थुङ्गा फूलका हामी…' बजाएर शुभाराम्भ गरिएको थियो । त्यसपछि नेवाः स्वायत्त राज्यको प्रस्तावित राष्ट्रिय गान गाउँदै नेतृत्वहरुद्वारा एकैसाथ सयौं परेवा आकाशमा उडाएर नेवाः स्वायत्त राज्यको आफ्नै झण्डासमेत उत्तोलन गरेर सार्वजनिक गरिएको थियो । साथै सोही कार्यक्रममा सभाका नेतृत्वहरुद्वारा रङ्गीचङ्गी वेलुनमा बाँधिएको नेवाः स्वायत्त राज्यको व्यानर र झण्डासमेत आकाशमा उडाइएको थियो । नेवाः देय दबूका संरक्षक मल्ल के सुन्दरले साचालन गर्नुभएको सो घोषणा सभामा दबूका अध्यक्ष नरेश ताम्राकारले स्वागत गर्नुभएको थियो भने संयुक्त संघर्ष समितिका अध्यक्ष नरेन्द्रभक्त हाडाले उपत्यकाभित्र आफ्नो ऐतिहासिक भूमि संवृद्ध भाषालिपि धर्म संस्कृति जनसङ्ख्या र कला-पहिचान भएर पनि राज्यको मूलधारबाट वञ्चित हुनुपरेको हँदा नयाँ संघीय राज्य संरचनामा नेवाः स्वायत्त राज्य हुनुपर्ने बताउँदै नेवाः स्वायत्त राज्यको घोषणा गर्नुभएको थियो ।नेवाः स्वायत्त राज्य घोषणा सभामा नेवाः संस्कृति र पहिचान झल्कने पोशाक र भेषभूषामा सजिएर विभिन्न साँस्कृतिक झाँकी र नृत्यसमेत प्रस्तुत गरिएको थियो । घोषित नेवाः स्वायत्त राज्यको सिमाङ्कन ऐतिहासिककालदेखि रहिरहेको नेपालमण्डलअन्तर्गत् पर्ने १२ वटा जिल्लामा रहेका नेवार बाहुल्य क्षेत्रहरुलाई समेट्ने र राज्यद्वारा नेवाः स्वायत्त राज्य औपचारिक रुपमा घोषणा भएपछि अपनाइने भाषिक नीति, साँस्कृतिक नीति, शिक्षा नीति, आर्थिक नीति, समावेशी राज्यभित्र रहेका गैरनेवार र सिमान्तकृत समुदायका नीतिहरु पनि सो घोषणा सभामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष तथा सभासद् पासाङ शेर्पा, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. केशवमान शाक्य, एकीकृति नेकपा माओवादीका उपाध्यष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका भिमसेन दास, नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव वज्राचार्य नेवाः स्वायत्त राज्य मङ्काः संघर्ष समितिका अध्यक्ष नरेन्द्रभक्त हाडालगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

No comments: