News

Dec 10, 2009

दूध र मिनरल वाटरमा दिसामा पाइने जीवाणु भेटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ मंसिर,बजारमा उपलब्ध प्याकेट दूध र मिनरल वाटरमा दिसामा पाइने जीवाणु भेटिएको छ । त्यतिमात्र होइन, प्रशोधित भनिएको पानीमा शरीरलाई हानि गर्ने एमोनियाजस्तो रसायन समेत पाइएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत चार महिनामा बजारबाट संकलन गरी परीक्षण गरेको दूध तथा मिनरल वाटरमा दिसामा पाइने कोलिर्फम जीवाणु भेटिएको हो । विभागका खाद्य निरीक्षकहरूले गत चार महिनामा बजारबाट ३५ कम्पनीका प्याकेट दूधको नमुना संकलन गरेका थिए । तीमध्ये २४ कम्पनीका दूध कम गुणस्तरको पाइएको विभागले जनाएको छ । '२४ मध्ये पाँच कम्पनीका दूधमा त दिसामा पाइने हानिकारक जीवाणु कोलिर्फम भेटियो,' विभागका प्रवक्ता प्रमोद कोइरालाले नयाँ पत्रिकासँग भने, 'कतिपय दूधका प्याकेटमा तौल तथा चिल्लो एवं ठोस पदार्थ कम रहेको पाइयो ।' सरकारले प्याकेट दूधमा कम्तीमा तीन प्रतिशत चिल्लो पदार्थको मात्रा हुनुपर्ने मापदण्ड बनाएको छ ।त्यस्तै, विभागद्वारा संकलित प्रशोधित भनिने पानीका ५५ नमुनामध्ये २२ कम्पनीका पानी गुणस्तरहीन भेटिए । गुणस्तरहीन २२ नमुनामध्ये १७ कम्पनीका पानीमा दिसामा पाइने कोलिर्फम जीवाणु भेटिएको विभागले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै, बजारमा बिक्रीवितरण हुँदै आएका अधिकांश तोरी तथा भटमास तेल पनि गुणस्तरहीन भेटियो । संकलित ४३ कम्पनीको तोरीको तेलको नमुनामध्ये ३७ कम्पनीको तेल गुणस्तरहीन पाइएको विभागले जनाएको छ । अधिकांश कम्पनीको तेलमा मिसावट पाइएको प्रवक्ता कोइरालाले जानकारी दिए । त्यस्तै ३४ कम्पनीको भटमासको तेलको नमुना संकलन गरी परीक्षण गर्दा २६ कम्पनीको तेलमा मापदण्डअनुरूप तोकिएको गुणस्तर नपाइएको पनि विभागले जनाएको छ । 'ती कम्पनीको तेलमा एसिडको मात्रा बढी पाइएको छ,' प्रवक्ता कोइरालाले भने, 'मिसावटको समस्या त छँदै छ ।' विभागले बजारबाट संकलन गरेका आठ कम्पनीको सूर्यमुखी तेलमध्ये चार कम्पनीको तेल गुणस्तरहीन भेटियो ।विभागले नमुनास्वरूप ४३ कम्पनीका फलफूल पनि संकलन गरेको थियो । संकलित नमुनामध्ये एउटा कम्पनीको फलफूल गुणस्तरहीन पाइएका छन् । त्यस्तै, संकलित ९४ बिस्कुटका नमुनामध्ये आठवटा गुणस्तरहीन पाइएका छन् । गुणस्तरहीन पाइएका कम्पनीका बिस्कुटमा ओसिएको, र उच्च अल्कोहोलिक एसिड पाइएको उल्लेख छ । त्यस्तै विभागले संकलन गरेको १४ कम्पनीको ओरेन्ज स्क्वासमध्ये सात कम्पनीको उत्पादन गुणस्तरहीन पाइएको थियो । १५ कम्पनीका चाउचाउमध्ये दुई कम्पनीका उत्पादन गुणस्तरहीन भेटिएकोसमेत विभागले जानकारी दिएको छ । त्यस्तै २९ कम्पनीका तयारी चाउचाउ संकलन गरी परीक्षण गर्दा १० कम्पनीका गुणस्तरहीन पाइएको प्रतिवेदनमा उल्लेख छ । गुणस्तरहीन पाइएका तयारी चाउचाउमा प्रोटिनको मात्रा कम पाइएको छ । त्यस्तै दाल, भुजा, चक्लेट, बेसन, खुर्सानीको धुलो, मसलालगायत पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।

No comments: