News

Dec 19, 2009

माओवादीले तीन दिने आम हडताल फिर्ता लिन अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस ४ - एकिकृत नेकपा माओवादीले राजनीतिक सहमति नभए भोलिदेखि आव्हान गरेको तीन दिने आम हडताल फिर्ता नहुने बताएको छ। आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी अध्यक्ष पुष्पकमल दाहालले तीन दिने आम हडताल पछि पनि समस्या समाधान नभए थप आन्दोलन गर्ने बताए। 'राजनीतिक सहमति गर्ने मन दलहरुमा भए दुई दिन भित्रै सहमति हुन्छ' अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा भने, 'विदेशीको दलाली गर्न नछोडेसम्म सहमति हुन सक्दैन।'यसअगाडि नेकपा एमाले अध्यक्ष झलनाथ खनालसहितका नेताहरुसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो अडान व्यक्त गरेका थिए।बिहान नेपाली कांग्रेसका सभपति गिरिजाप्रसाद कोइरालासँग भेटेका एमाले अध्यक्ष खनाल दिउसो माओवादी पार्टी कार्यालय पुगेर अध्यक्ष दाहालसँग छलफल गरेका थिए। छलफलपछि खनालले भने, 'धेरै विषयमा सहमति भइसकेको छ, बाँकी विषयमा आज साँझ सम्म शिर्षस्थ तहमा फेरि छलफल गरेर टुंगोमा पुग्नेछौं।'खनालका अनुसार माओवादीको जारी स्थायी समिति बैठकमा पनि भोलिदेखिको हडताल फिर्ता लिने/नलिने बारे छलफल भइरहेको जानकारी अध्यक्ष दाहालले दिएका थिए।भेटपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले कांग्रेस र एमालेले तयार पारेको प्रस्ताव अध्यक्ष खनालले लिएर आएका जानकारी दिए। 'त्यो प्रस्ताव तीन दिने आम हडताल फिर्ता लिन खालको मात्र थियो' शर्माले सञ्चारकर्मीसँग भने, ' त्यसमा हामीले सहमति जनाएनौं।'एमाले अध्यक्ष खनालसँगै गृहमन्त्री भीम रावल पनि माओवादीको कार्यालयमा पुगेका थिए। माओवादी अध्यक्ष दाहालसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि वार्तामा सहभागी थिए।छलफलमा एमाले नेताहरुले तीन दिनको आम हडताल फिर्ता लिन अनुरोध गरेका थिए। माओवादीले सात महिना अगाडि राष्ट्रपति रामवरण यादवले तत्कालिन प्रधानसेनापति रुक्माङद कटवाललाई पदमै बहाल रहन दिएको निर्देशन नागरिक सर्वोच्चता विरोधी भन्दै तीन दिने आम हडतालको घोषणा गरेको हो।

No comments: