News

Dec 15, 2009

वन मन्त्री र प्रतिनिधिहरु कोपनहेगन सम्मेलन केन्द्र गएनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोपनहेगन (डेनमार्क), मंसिर ३०- वन मन्त्री दीपक बोहराले नेतृत्व गरेको सरकारी टोलीमा आएका पदाधिकारी र मन्त्रीले यहाँ आएको छ दिन भइसक्दा पनि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएका छैनन्। उनीहरुको मुख्य कार्यक्रम 'पर्वतारोहीहरुको र्‍याली गत शुक्रबार नै सकिएको थियो। वातावरण मन्त्रालयले सरकारी टोलीका प्रतिनिधिको हैसियतले वन मन्त्रीको टोलीमा आएका पदाधिकारीलाई सम्मेलनभित्रका छलफल र बैठकमा उपस्थित हुन कार्यविभाजन गरेको छ। तर उनीहरु अहिलेसम्म बैठकमा उपस्थित भएका छैनन्। सरकारी सुविधामा आएका यी पदाधिकारीको कुनै पनि काम यहाँ देखिएको छैन। वातावरण सचिव डा. उदयराज शर्माले राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सरकारी टोलीमा परेका कोष सदस्य-सचिव जुद्धबहादुर गुरुङ र सिद्धार्थवज्र वज्राचार्यसँग सम्मेलन केन्द्रमा अहिलेसम्म भेट नभएको जानकारी दिए।'मैले सरकारी टोली सदस्यका हैसियतले कार्यविभाजनमा राखेको छु। तर अहिलेसम्म उहाँहरुसग भेट भएको छैन', उनले भने- 'उहाँहरुबाट कुनै पनि प्रगति विवरण पाएको छैन।' वातावरण सचिव शर्माले उनीहरुलाई रेड अवधारणा र लङ टर्म कोपअपरेटिभ एक्सन (एलसीए) समूहको बैठकमा छलफल गर्ने पदाधिकारीको सूचीमा राखेका छन्। तर अहिलेसम्म कुनै पनि बैठकमा यिनीहरु सहभागी छैनन्।सरकारी टोलीका प्रतिनिधिहरु सम्मेलन केन्द्रमा पुगेपछि स्थानीय समयअनुसार हरेक दिन १०:१० मा भेटने गर्छन्। तर यो समय वन मन्त्रीलगायत् उनका पदाधिकारी कहिल्यै उपस्थित भएका छैनन्। स्रोतका अनुसार वन मन्त्री बोहरा प्रधानमन्त्री माधवकुमार नेपाल आएपछि घुम्न नपाइने भन्दै आफूले ल्याएका पदाधिकारीसँग नर्वे यात्रामा गएर फर्किएका छन्। मङ्गलबार साँझ उनीहरु प्रधानमन्त्री नेपालसँग सम्मेलन केन्द्र आउने कार्यक्रम छ। मङ्गलबार बिहान प्रधानमन्त्री नेपाल यहाँ आइपुगेका छन्। मन्त्री बोहराले पर्वतारोहीहरुको र्‍याली सफल पार्न काठमाडौ‌बाट ५१ जनाको टोली लिएर आएका थिए। ती टोलीमध्ये सञ्चारकर्मी र उनका सात जना पदाधिकारी अहिले कोपनहेगनमा छन्।उनको टोलीमा सहभागी सञ्चारकर्मीका अनुसार बोहराले राष्ट्रिय प्रकृति कोषअन्तर्गत एउटा कोष स्थापना गरेर त्यसको खर्चले त्यो र्‍याली गरेका हुन्। यहाँ आएर उनले विभिन्न देशका गैर आवासीय नेपालीबाट र्‍यालीमा सहभागी प्रतिनिधिको खर्च व्यवस्थापन गर्न रकम उठाइरहेका छन्। डेनमार्कस्थित आवासीय नेपालीले सात हजार क्रोनर (१ लाख ३ हजार रुपैयाँ) दिएको सञ्चारकर्मीले बताएका छन। 'अन्य मुलुकका गैर आवासीयबाट पनि पैसा उठाएका छन', मन्त्री बोहराको भ्रमण टोलीमा आएका एक सञ्चारकर्मीले भने।

No comments: