News

Dec 18, 2009

मधेसवादी तीन दलले मधेस गणराज्यप्रति आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २ ,मधेसवादी तीन दलले एकीकृत नेकपा (माआवादी)द्वारा घोषणा गरिरहेको गणराज्यप्रति आपत्ति प्रकट गरेका छन् । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीले बुधबार संयुक्त बैठक बसी सो आपत्ति प्रकट गरेका हुन् ।सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले एनेकपा (माओवादी)ले गणराज्य घोषणा गरेर शान्तिसम्झौता उल्लङ्घन गरेको आरोप लगाउनुभयो । उहाँले सरकार र मधेसी मोर्चाबीच भएको आठबुँदे सम्झौताविपरीत एनेकपा -माओवादी)ले कार्य गरेको बताउँदै त्यसलाई रोक्नसमेत आग्रह गर्नुभयो ।एनेकपा (माओवादी)ले तराईका विभिन्न क्षेत्रमा जग्गा कब्जा गरी मधेसप्रतिको सम्बन्धलाई छर्लङ्ग पारेको बताउँदै उहाँले त्यसलाई तत्काल रोक्न बैठकले आग्रह गरेको बताउनुभयो । एनेकपा (माओवादी)ले विपक्षी दलको कर्तव्य बिर्सी जथाभावी गरिरहेको आरोप लगाउँदै तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले माओवादीलाई शान्तिसम्झौताविपरीत कार्य नगर्न आग्रह गर्नुभयो ।यसैबीच कार्यवाहक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बुधबार राष्ट्रपति डा. रामवरण यादवलाई भेटी माओवादीको गणराज्य घोषणाप्रति चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रपति यादवले सरकारबाट गणराज्य घोषणा कार्यक्रम रोक्न पहल नभएकोप्रति आपत्ति प्रकट गर्नुभएको भेटपछि पत्रकारहरूलाई बताउनुभयो ।

No comments: