News

Dec 8, 2009

इन्टरपोलको रेडकर्नरमा २४ नेपाली परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २३- अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठनको रेडकर्नर नोटिसमा २४ जना नेपाली परेका छन्। अपहरण, हत्या, चोरी र जालसाजीको अभियोगमा सन् २००८ देखि हालसम्म २४ नेपाली इन्टरपोलको रेडकर्नर नोटिसमा परेका हुन्। १५ नेपाली भारतको अनुरोधमा इन्टरपोलको सुचीमा परेका हुन् भने ९ जना नेपालको अनुरोधमा परेका हुन्। नेपालको अनुरोधमा नोटिसमा पर्नेमाथि यौन अपराध, ज्यान मार्ने उद्योग, अपहरण, ठगी र हातहतियारको अभियोग छ भने भारतको आग्रहमा रेडकर्नर नोटिस जारी हुनेमा अधिकांश चोरी र जालसाजीमा संलग्न छन्। प्रहरी प्रवक्ता विज्ञानराज शर्माका अनुसार कुनै फरार अपराधीले आफ्नो राष्ट्रको सीमा पार गरेको निश्चित भएपछि अनुसन्धान र पक्राउका लागि सहज बनाउन इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिन्छ। उनले भने, 'इन्टरपोलमार्फत नोटिस जारी भएपछि फरार अभियुक्तको खोजी गर्न इन्टरपोलको एनसिबी युनिट सक्रिय हुन्छन्, यसले अभियुक्त जुन देशमा छ, त्यहाँ पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याउन सहज हुन्छ।'नेपालका फरार अभियुक्त प्रायः भारतमा लुक्ने गरेका छन्। नेपाल प्रहरीले उनीहरूको खोजी गर्न इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराउने गरेको छ। यसरी केही अभियुक्तहरू भारतमा पक्राउ समेत परेका छन्।भारतको नयाँदिल्लीमा बसेर नेपालमा श्रृंखलाबद्ध अपहरणमा सक्रिय सन्दीप पाठक र अमर टन्डन इन्टरपोलको सहयोगमा पक्राउ परेका थिए। सन्दीप हाल भारतीय जेलमै छन् भने टन्डनलाई नेपाल प्रहरीले स्वदेशमै ल्याएर कारबाही अगाडि बढाएको थियो। टन्डन हाल केन्द्रिय कारागारमा छन्। यसैगरी मेघा देवकोटाका अपहरणकारी सिद्धार्थ लामा र राजु लामालाई प्रहरीले भारतमा पक्राउ गरी नेपाल ल्याएको थियो। दुबैविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी भएको थियो। एक महिनाअघि पक्राउ परेका नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीविरुद्ध पनि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो।रेडकर्नर नोटिस जारी भएका गोकुल गिरी, राजु थापा र केशब दर्लामी मगर चिकित्सक उपेन्द्र देवकोटाको छोरी अपहरण काण्डका अभियुक्त हुन्। देवकोटाको अपहरणमा संलग्न रहेका तीन अभियुक्त पक्राउ परिसकेका छन्। अन्य तीन अभियुक्त पक्राउ नपरेपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले यिनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो। ३८ वर्षीय गोकुल गिरी काभ्रेपलाञ्चोक निवासी हुन्। २९ वर्षीय राजु थापा रुपन्देहीका हुन्। उनीमाथि चोरी र अपहरणको अभियोगमा छ। ३० वर्षका केशब दर्लामी मगर संखुवासभाका हुन्।यौन अपराधमा फरार रहेका आगम्बर बोहोराको विरुद्धमा पनि रेडकर्नर नोटिस जारी भएको छ। उनीविरुद्ध जिल्ला अदालत दार्चुलाबाट पक्राउ आदेश जारी भएको छ। २४ वर्षीय बोहोरा दार्चुला, रानीशेखर-७ निवासी रहेको इन्टरपोल रेकर्डमा उल्लेख छ।रुपन्देहीका फकिर रियाज ज्यान मार्ने अभियोगका फरार अभियुक्त हुन्। ३४ वर्षीय रियाज विरुद्ध ज्यान मार्ने अभियोगमा रुपन्देहीबाट वारेन्ट जारी भएको हो। काठमाडौंका भुपेन्द्र खड्का ठगी अभियोगमा अभियुक्त हुन्। ३४ वर्षीय खड्काविरुद्ध इन्टरपोलले काठमाडौं जिल्ला अदालतको वारेन्टको आधारमा रेडकर्नर नोटिस जारी गरेको हो।सिन्धुलीका मिलन लामा तामाङ हातहतियार ठगी र लागूऔषध कारोबारी रहेको इन्टरपोलको रेकर्डमा उल्लेख छ। भक्तबहादुर लामा, विष्णुबहादुर लामा र रामबहादुर तामाङविरुद्ध ठगी अभियोगमा नोटिस जारी भएको हो।इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेका नेपालीमध्ये १५ जनाविरुद्ध भारतमा मुद्दा छ। गुजरातको आग्रहमा सबैभन्दा धेरै नेपाली इन्टरपोलको नोटिसमा परेका छन्। जसमा २७ वर्षीया नानु मगरविरुद्ध ज्यान मार्ने उद्योग र चोरीको अभियोगमा, २६ वर्षीय इन्द्रबहादुर सावद ज्यान मार्ने र चोरीको अभियोगमा र ४१ वर्षीय राजबहादुर शाहीविरुद्ध ज्यान मार्ने उद्योग र चोरीमा अभियोगमा रेडकर्नर नोटिस जारी भएको छ। यस्तै, गुजरातकै आग्रहमा २५ वर्षीय फुलनचन्द शर्माविरुद्ध ज्यान मार्ने र चोरीको अभियोगमा र २९ वर्षीय खुमराज थापाविरुद्ध ज्यान मार्ने उद्योग र चोरीमा नोटिस जारी गरिएको छ।यसैगरी ३० वर्षीय ठूलाराम बहादुर विरुद्ध ज्यान मार्ने उद्योगमा नोटिस जारी भएको छ। उनीविरुद्ध भारतको चित्तौरबाट वारेन्ट जारी गर्न आग्रह भएको हो। दैलेखका २७ वर्षीय विपीन विष्ट ज्यान मार्ने उद्योगमा फरार छन्। उनीविरुद्ध भारतको उत्तराखण्डद्वारा वारेन्ट जारी भएको हो। २७ वर्षीय भिम दमाईविरुद्ध भारतको मेघालय सिलोङबाट ज्यान मार्ने उद्योगमा बारेन्ट जारी भएपछि इन्टरपोलले नोटिस जारी गरेको छ। हैदराबादद्वारा जालसाजीको अभियोगमा वारेन्ट जारी भएका एक नेपालीको थर इन्टरपोलको नोटिसमा उल्लेख छ। उनको परिचयमा ३६ वर्षीय गुरुङ मात्र उल्लेख छ। हैदराबादबाट चोरीको अभियोगमा ३२ वर्षीय कृष्णप्रसाद ओमांगीको नाममा नोटिस जारी छ। हैदराबादबाटै चोरीको अभियोगमा वारेन्ट जारी भएका २८ वर्षीय पदमबहादुर पनि इन्टरपोलको नोटिसमा छन्। ३० वर्षीय अजय राईविरुद्ध बालक अपहरणको अभियोगमा सिलोङ मेघालयबाट वारेन्ट जारी भएको आधारमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ।५८ वर्षका हरिहर भुषालविरुद्ध जालसाजी गरेको अभियोगमा सिलोङ मेघालयबाट वारेन्ट जारी भएको छ। छेवाङ नाम गरेका एक नेपाली दिल्लीमा संगठित अपराधमा सक्रिय रहेको अभियोगमा दिल्लीको आग्रहमा इन्टरपोलको रेडकर्नर नोटिसमा छन्। उनी विरुद्ध संगठित अपराधका साथै वातावरणीय अपराधको अभियोग समेत छ।

No comments: