News

Dec 8, 2009

आज बसेको कार्यदको बैठक बिना निष्कर्ष टुँगियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०८ डिसेम्बर, २००९ ,सहमतिको खाका तयार पार्न प्रमुख तीन राजनीतिक दलको आज बसेको कार्यदको बैठक बिना निष्कर्ष टुँगिएको छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकमा आपसी तिक्तता अन्त्य र बिद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि साझा मस्यौदा तयार गर्ने बिषयमा केन्द्रीत रहेको बताइएको छ । आजको बैठक बिना निष्कर्ष टुँगिएपछि भोलि बुधबार बिहान ९ बजे पुन बैठक डाकिएको छ । कार्यदलमा कांग्रेसका अर्जुननरसिंह केसी, कृष्ण सिटौला, एमालेका भरतमोहन अधिकारी, भीम रावल, माओवादीका नारायणकाजी श्रेष्ठ र देव गुरुङ रहेका छन् । दुई दिनभित्र कार्यदलले आफ्ना कार्य पूरा गरेपछि पुनः शीर्ष नेताहरुको बैठक बसी टुंगो लगाइने बताइएको छ । यस अगाडि सोमबार सहजकर्ताहरुको समेत उपस्थितिमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले दुई दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने उच्चस्तरीय सहमति गरेको थियो । दलहरुबीच अविश्वास र एकअर्काप्रति आशंका बढ्दै गएका कारण नागरिक समाजका प्रतिनिधिद्वय पद्मरत्न तुलाधर र दमननाथ ढुंगानालाई सहजकर्ताका रुपमा आमन्त्रण गरी शीर्ष नेताहरुको बैठक भएको थियो । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले सचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य भरतमोहन अधिकारी, गृहमन्त्री भीम रावल, प्रधानमन्त्रीका सल्लाहकार रघुजी पन्त, एमाले अध्यक्षको सचिवालयका सचिवालय प्रमुख परशुमेघी गुरुङ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षत्रय मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, र नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका कावा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री अर्जुनरसिंह केसी, डा. रामशरण महत, महेश आचार्यको उपस्थिति थियो ।

No comments: