News

Dec 8, 2009

कैलालीको घटना प्याकेजमा सहमति खोज्नुपर्ने माओवादीको निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ मंसिर,एकीकृत माओवादीले कैलालीको डुडेझारी घटनाको प्याकेजमा सहमति खोज्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादी पदाधिकारीको सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले प्याकेजमा सहमति निकाल्नुपर्ने निष्कर्ष निकालेको हो ।सहमतिका लागि प्याकेजसहितको प्रस्ताव सरकारलाई बुझाएको माओवादीले न्यूनतम माग सम्बोधन नभए नागरिक सर्वोच्चताका लागि जारी आन्दोलनसँग यो मुद्दा पनि समेट्ने बताएको छ । माओवादीका सचिव सिपी गजुरेल गौरवले आफ्नो पार्टीले राखेका न्यूनतम माग पूरा गर्न सरकार तयार नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।'हाम्रा न्यूनतम माग पूरा भएनन् भने हामी आन्दोलनमा छौँ र यो विषय पनि जोडेर थप सशक्त आन्दोलन गर्छौं,' गौरवले नयाँ पत्रिकासँग सोमबार भने । घटनाको छानबिन गर्न तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने मृतकलाई सहिद घोषणा गर्दै तिनका आफन्तलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचार गरिनुपर्नेलगायत माग राखिएको गौरवले बताए ।त्यसबाहेक बाढी-पहिरोबाट भूमिहीन बनेका, सरकारले मुक्त कमैया घोषणा गरेका र वास्तविक सुकुम्बासीलाई उचित व्यवस्था गरिनुपर्ने आफ्ना न्यूनतम माग रहेको बताउँदै गौरवले भने, 'अपराधीमाथि कारबाही नगरी हुँदैन ।' घटनाको समाधान गर्ने प्याकेजसहितको प्रस्ताव आइतबारै आफ्नो पार्टीले प्रधानमन्त्रीलाई बुझाएको माओवादी नेताले बताएका छन् । आइतबार साँझ प्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री भीम रावलसहितको टोली माओवादी नेतासँग छलफल गर्न प्रचण्डनिवास नयाँबजार पुगेका थिए । माओवादीले नेपालबन्द सकिएलगत्तै आइतबार साँझ प्रधानमन्त्री नेपाल, गृहमन्त्री रावल नयाँबजार पुगी माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । कैलाली घटनामा माओवादीले आन्दोलन चर्काउन थालेपछि सरकारले चासो देखाएको हो ।कैलालीको बलिया-८ स्थित डुडेझारी जंगलमा शुक्रबार भएको झडपमा एक प्रहरीसहित ६ जनाको ज्यान गएको थियो । सो क्षेत्रमा अझै तनाव कायम छ । शुक्रबारको भिडन्तमा प्रहरी जवान पदमसिंह ऐर तथा सुकुम्बासीतर्फ लट्टे विक, इन्द्रा विक, नरेन्द्र विक, सञ्जय ढकाल र रूपलाल डगौराको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।कैलाली क्षेत्रका सुकुम्बासीले १० मंसिरदेखि कैलाली-८ डुडेझारीको जंगलक्षेत्र अतिक्रमण गरी १५ सयभन्दा बढी टहरा निर्माण गरेका थिए । १८ गते कैलाली प्रशासनले टहरा हटाउन सुरु गरेपछि तनाव सुरु भएको थियो ।त्यसैबीच, पदाधिकारीको बैठकमा सोमबारको तीन दलको बैठकमा आफ्ना पुराना अडानसहित सहभागी हुने विषयमा छलफल भएको सचिव गौरवले बताए ।माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनुपर्ने, नागरिक सर्वोच्चता बहाली हुनुपर्ने, शान्ति, नयाँ संविधान र राष्ट्रिय स्वाधीनताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार हुनुपर्ने अडान राख्दै आएको छ ।माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादीले दर्ता गराएको संकल्प-प्रस्तावमा छलफल गर्न दिए, त्यसो नभए साझा संकल्प-प्रस्ताव बनाएर वा राष्ट्रपतिले आफ्नो कदम गल्ती भएको स्वीकार गरे राष्ट्रपतिको कदम सच्चिने बताएका छन् ।

No comments: