News

Dec 31, 2009

सीमा अध्ययनमा सभासद् टोली / भारतीय पक्षबाट मिचिएको ठहर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(नेपालगन्ज) मुलुकको दक्षिणतर्फो भौगोलिक सीमाबारे स्थलगत अध्ययन गर्न आएको व्यवस्थापिका संसद्अर्न्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिसम्बद्ध संसदीय टोलीले बुधबार बाँकेस्थित लक्ष्मणपुर बाँधक्षेत्रको अध्ययन अवलोकन गरेको छ। संविधानसभा सदस्य पदमलाल विश्वकर्माको संयोजकत्वमा रहेको टोलीले निरीक्षणका क्रममा लक्ष्मणपुर बाँध निर्माणमा भारतीय पक्षबाट अन्तर्राष्ट्रिय मापदण्ड मिचिएको ठहर गरेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो। टोलीमा सहभागी सीमाविद् बुद्धिनारायण श्रेष्ठले सीमाको ८ किलोमिटर क्षेत्रमा दुवै देशले एकआपसमा असर पुग्ने कुनै कार्य गर्न नपाउने नियम हुँदाहुँदै भारतले २१ स्थानमा बाँध बनाएर मापदण्डविपरीत काम गरेको बताउनुभयो। सुस्तादेखि महाकाली कञ्चनपुरको ब्रम्हदेव मन्दिरसम्मको सीमा अध्ययन गर्न निस्केका संसदीय टोलीको पश्चिमतर्फसभासद् मोहम्मदी सिद्दिकी, कमला थापा, चन्द्रिका यादव, मो. नजिर मिया, पार्वती महतो, रीमाकुमारी नेपाली, पुरन रानाथारू, सावित्रीकुमार काफले, लीलाकुमारी भण्डारी एवम् सीमाविद् बुद्धिनारायण श्रेष्ठ हुनुहुन्छ। सभासद् रामपृत पासवानको नेतृत्वमा अर्का संसदीय टोली सुस्ताबाट पूर्वतर्फअध्ययनमा छ।टोलीले मंगलबार मात्र बर्दिया जिल्लाका विभिन्न ठाउँमा अध्ययन गरी गुलरिया ९ देखि ११ वटा वडासम्मका १५ वटा सहायक स्तम्भ हराएको फेला पारेको थियो। सभासद् सिद्दिकीले बर्दियामा मात्र साढे २ किलोमिटर सीमा भारतबाट मिचिएको र त्यसको प्रभावबाट सीमाक्षेत्रका नेपालीले निकै सास्ती भोग्नुपरेको बताउनुभयो।उहाँले छिट्टै दुइ देशका अधिकारी बसेर सीमा समस्या मिलाउनुपर्नेमा जोड दिनुभयो।बुधबार बिहान नेपालगन्जमा सीमासम्बन्धी छलफलमा बोल्दै संयोजक विश्वकर्माले मेचीदेखि महाकालीसम्मका सीमासम्बन्धी समस्यालाई हेरेर संसदीय समितिले प्रतिवेदन तयार गर्ने जानकारी दिनुभयो। उहाँले संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गरेर सीमा समस्या समाधान गर्न पहल गरिनेसमेत बताउनुभयो।कार्यक्रममा बाँकेस्थित राजनीतिक दलका नेताहरूले सीमासम्बन्धी समस्यालाई दलको नाराका रुपमा मात्र नहेरेर प्रभावकारी रुपमा हेर्न सुझाव दिएका थिए।

No comments: