News

Dec 10, 2009

अज्ञात सशस्त्र समूहले वीरगंजमा एक जनाको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २५ - अज्ञात सशस्त्र समूहले बिहीबार साँझ वीरगंजमा एक जनाको हत्या गरेको छ । वीरगंज आदर्शनगर १३ स्थित पशुपति रोड क्यारीयर्स प्रालि ढुवानी सेवाका म्यानेजर ५० वर्षीय राजेश्वर दुबेको साँझ करीब साढे ५ बजे हत्या गरीएको हो । प्रत्यक्षदर्शीका अनुसार ढुवानी सेवाको आदर्शनगरस्थित कार्यालयमा बसेर काम गर्दै गरेका दुबेलाई हिरो होण्डा प्यासन नम्बर नभएको अनटेस्ट मोटरसाईकलमा चढेर आएको तीन जनाको समूहले एक राउण्ड गोली हानेर भागेको थियो । दुबेको छातिमा गोली हानीएको छ । गोली लागेका दुबेलाई उपचारार्थ अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । स्थानीय एएमसी अस्पतालमा भर्ना गरीए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । गोली प्रहार गर्ने समूहको पहिचान नभए पनि प्रहरीले रकम माग गर्ने भारतीय समूहको घटनामा संलग्नता रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । मृतक दुबे भारत अरेराज निवासी भए पनि बिगत तीन दशक यता वीरगंजमा बसी उक्त ढुवानी सेवामा कार्यरत थिए । उनी वीरगंज अशोकावाटिकामा डेरा गरी बस्दै आएका थिए । उनलाई नजिकबाट चिन्नेहरुले उनको कसैसंग व्यक्तिगत दुश्मनी नभएको र मृदुभाषि रहेको बताए । पर्साका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले घटना लगत्तै नगरको सम्पूर्ण नाकामा प्रहरी परीचालन गरी अपराधी पक्राउ गर्ने प्रयास भई रहेको दावी गरेका छन् । दुई महिना यता भारतीय अपराधिक समूहहरुले वीरगंजमा गोली प्रहारको घटना बढाएका छन् । गत महिना वीरगंजमा तीन व्यवसायी उपर आक्रमण भएकोमा दुईले ज्यान गुमाएका थिए भने यसै साता वीरगंज ४ स्थित उद्योगी द्वारीका तुल्स्यानको घरमा डकैती गर्न आएको डाका समूहले चलाएको गोली लागि उक्त समूहकै एक सदस्यको ज्यान गएको थियो ।

No comments: