News

Dec 5, 2009

फोरमले स्वायत्त मधेश प्रदेश कार्यान्वयन गर्नका आन्दोलन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर मंसिर २०- संविधानसभामा पार्टीको भूमिका समाप्त भएको ठहर गर्दै मधेशी जनअधिकार फोरमले स्वायत्त मधेश प्रदेश कार्यान्वयन गर्नका लागि शनिबारदेखि तेस्रो मधेश आन्दोलन सुरु भएको जनाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष जेपी गुप्ताले सङ्घीयता, प्रादेशिक स्वायत्तता र गणतन्त्रका लागि आन्दोलनले सहयोग पुर्‍याउने दाबी गरेका छन्।विराटनगरमा शनिबार आयोजित क्षेत्रीय विरोधसभामा बोल्दै फोरम अध्यक्ष यादवले सरकार छाडेर आन्दोलनमा आउन मधेशवादी दल तराई–मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीलाई आग्रह गरेका छन्। ‘स्वायत्त मधेश प्रदेश स्थापनाका लागि संयुक्त मधेशी मोर्चालाई बलियो बनाउनु आवश्यक छ’, यादवले भने- सरकारको पिछ्लग्गु नबनेर आन्दोलनमा आउन महन्थ ठाकुर र राजेन्द्र महतोलाई आग्रह गर्दछु।तेस्रो मधेश आन्दोलनको पहिलो चरणमा पुस २ गतेसम्म क्षेत्रीय विरोधसभा आयोजना गर्ने र त्यो अवधिमा पनि सहमति कार्यान्वयन नभए आमहड्तालसम्मका विरोधका कार्यक्रम ल्याइने फोरम नेता गुप्ताले बताए। ‘संविधानसभामा हाम्रो भूमिका लगभग समाप्त भएको छ, हामीले भूमिका निर्वाह गर्दा पनि मधेशी जनतालाई अधिकार दिलाउन सक्दैनौ’, गुप्ताले भने- सरकार र प्रमुख पार्टीहरु मधेश विरोधी रहेकाले सङ्घर्षको विकल्प छैन।फोरम अध्यक्ष यादवले भने- मधेश प्रदेश स्थापना नभएसम्म आन्दोलन रोकिँदैन। दोस्रो मधेश आन्दोलनमा सरकारसित भएको सहमतिमा स्वायत्त मधेश प्रदेश नै उल्लेख रहेको दाबी गर्दै नेता यादवले भने- सरकार सो सम्झौता पूरा गर्न बेइमान देखिएको छ, त्यसैले मधेशको सबै शक्ति लगाएर स्वायत्त मधेश प्रदेश स्थापना गरेरै छाडिनेछ।‘काठमाडौं केन्द्रित र निर्देशित शासन मधेशमा चल्दैन’, फोरम अध्यक्ष यादवले भने- ‘स्वायत्त मधेश प्रदेश मधेशमा बस्ने सबैका लागि हुनेछ, गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई मधेश प्रदेशमा सम्मान दिइनेछ।’ उनले अस्तित्व, पहिचान र विकासका लागि स्वायत्त मधेश प्रदेशको स्थापना जरुरी रहेको बताए।फोरम अध्यक्ष यादवले सरकारले मधेशी जनतासित माफी मागेर उपराष्ट्रपति परमानन्द झालाई सम्मानपूर्वक क्रियाशील नगरे दोस्रो चरणको आन्दोलन सशक्त हुने चेतावनीसमेत दिए। ‘उपराष्ट्रपतिलाई सम्मानका साथ क्रियाशील, हिन्दी भाषालाई मान्यता दिन सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएका हौ’– यादवले भने।संविधानसभाको औचित्य समाप्त भएको र सरकारमा फोरम सहभागी हुँदैन भन्ने विषयमा पार्टीमा कुनै मतभेद नरहेको सहअध्यक्ष गुप्ताले बताए। उनले पनि संयुक्त मधेशी मोर्चामा सहभागी भई तमलोपा र सदभावनालाई आन्दोलनबाट स्वायत्त मधेश प्रदेश स्थापना गर्न सहयोग पुर्‍याउन आग्रह गरे। विरोधसमामा फोरम नेतृ रेणु यादवले स्वायत्त मधेश प्रदेशको अंशबण्डा नभएसम्म आन्दोलन जारी रहने बताइन्।

No comments: