News

Dec 11, 2009

प्रचण्डलाई प्रतीकका रूपमा २० किलोको माला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले केही दल संविधानसभा भंग गर्ने योजनामा रहेको दोहोर्‍याएका छन् ।उनले जनतामा कतै संविधान नबन्ने त होइन भन्ने आशंका रहेको बेला माओवादीले संविधान निर्माण गरेरै आफ्नो लक्ष्य प्राप्त गर्ने प्रचण्डको भनाइ थियो ।धेरै समय सरकार चलाएकाले संविधानसभा र गणतन्त्र नचाहेका भए पनि जनताले त्यो स्थापना गरेकाले यसको संरक्षण पनि जनताले नै गर्ने भन्दै प्रचण्डले त्यसका लागि तयार रहन आह्वानसमेत गरे ।बिहीबारदेखि धनगढीमा सुरु सुदूरपश्चिम महोत्सव उद्घाटनमा अध्यक्ष प्रचण्डले सुदूरपश्चिम क्षेत्र कला-संस्कृति र पर्यटनको अथाह सम्भावना बोकेर पनि शासकको नजर नपर्दा पछाडि परेको बताए । उनले आफू सरकारमा बस्दा सुदूरपश्चिममा विश्वविद्यालय खोल्नेलगायत केही राम्रा काम गरेको दाबी पनि गरे ।प्रचण्डले कैलालीको डुडेझारी घटनामा सुरक्षा निकाय होइन, वर्तमान सरकारमा रहेका दल र त्यसका नेता जिम्मेवार रहेको बताए ।उनले भने, 'शान्तिप्रक्रिया सुरु भएयता यो कैलालीमा भएको सबैभन्दा नराम्रो घटना हो ।' माओवादी अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या शान्तिपूर्ण र सहमतिका आधारमा समाधान गर्नुपर्नेमा गोली हानेर समाधान गर्न खोज्नु सरकारी मूर्खता भएको टिप्पणी गरे ।'प्रधानमन्त्री र गृहमन्त्रीलाई आफ्नै निवासमा बोलाएर मैले स्थानीय तहमा सुकुम्बासी समस्याबारे सहमति भएको थिएन भने मसँग कुरा गरेको भए पनि समाधानको प्रयास हुन्थ्यो भनेँ,' प्रचण्डले अगाडि भने, 'अब तत्काल मृतकलाई क्षतिपूर्ति, सहिद घोषणा, घाइतेको उपचार र सुकुम्बासीको उचित व्यवस्थापन हुनुपर्छ भनँे, तर सरकार टालटुले निर्णय गरेर पन्छियो ।' माओवादीको जितबाट तिलमिलाएकाले माओवादीलाई शान्तिप्रक्रियाविरोधी भन्ने आरोप लगाएको उनको दाबी थियो । 'अहिले नयाँ सोच, मान्यता, धारणा कोपिलामै मार्ने षड्यन्त्र हुन्छ कि भन्ने आशंका बढिरहेको छ,' उनले भने, 'नयाँ नेपाल पुरानै मान्यता, सोच र नेतृत्वबाट बन्दैन ।'प्रचण्डलाई कार्यक्रममा २० किलोको माला लगाएर स्वागत गरिएको थियो । यसअघि प्रधानमन्त्री हुँदा उनलाई स्थानीयवासीले २१ किलोको माला पहिर्‍याइदिएका थिए । सुदूरपश्चिमका २१ माग सम्बोधन गराउन यसअघि प्रचण्डलाई २१ किलोको माला लगाइएको, अप्टिकल फाइबरको माग पूरा भएकाले बाँकी २० मागको प्रतीकका रूपमा यसपटक २० किलोको माला लगाइदिएको महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । प्रचण्डले राम्रोसँग काम गरे ती माग पनि पाँचै वर्षमा पूरा गर्न सकिने बताएका थिए ।महोत्सव उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशराज भण्डारीको अध्यक्षतामा भएको थियो । उद्घाटनमा सुदूरपश्चिमका विभिन्न संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएका थिए । अध्यक्ष प्रचण्ड बहुचर्चित डुडेझारी घटनाबारे जानकारी लिन बिहीबार साँझ लम्की प्रस्थान गरेका छन् ।

No comments: