News

Dec 30, 2009

भारतले एकतर्फी सीमास्तम्भ गाडेको निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, १४ पुस,बर्दियाको गुलरिया नगरपालिकास्थित दसगजासँग जोडिएका तीन स्थानमा भारतले एकपक्षीय रूपमा सीमा कायम गरी सीमास्तम्भ गाडेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । गुलरिया नगरपालिका-९ चौगुर्जी, सुरजपुरमा पर्ने तीनवटा मुख्य सीमास्तम्भ भारतले सन् २००७ मा एकपक्षीय रूपमा गाडेको निष्कर्ष निकाल्दै पुनः सीमांकनका लागि सरकारलाई अनुरोध गर्ने समितिले जनाएको छ । मंगलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले विवादित गुलरियाका वडाहरूको अनुगमन गरेको थियो । 'जिल्लामा पर्ने ६२ देखि ६४ नम्बर सम्मका सीमास्तम्भका भू-भागमा भारतीय अतिक्रमण पाइएको छ,' सभासद् पदमलाल विश्वकर्माले भने, 'यो क्षेत्रमा पुनः सीमांकन हुनुपर्दछ ।' उनले पुनः सीमांकनका लागि संसद्मार्फत सरकारलाई दबाब दिने प्रतिबद्धता जनाएका छन् । सो क्षेत्रमा सिमानाको विषयलाई लिएर नेपाल-भारतका अधिकारीबीच पटक-पटक विवाद हुँदै आएको छ ।अध्ययन समितिले त्यहाँका स्थानीयवासीसँग सोधपुछ गरेको थियो । स्थानीयवासीले आफ्ना जग्गा भारतीय अधिकारीले अतिक्रमण गरेको गुनासो गरेका छन् । गुलरियन नगरपालिकाको ती क्षेत्रका दर्जनभन्दा बढी सर्वसाधारणको जग्गा भारतीय पक्षले अतिक्रमण गरेको पटकपटक गुनासो आउने गरेको छ ।त्यसैगरी भारतीय पक्षबाट विभिन्न बाहनामा दुव्र्यवहार गर्ने र कुटपिटसमेत सहनुपरेको गुनासो स्थानीयवासीको थियो । अध्ययन समितिसँगै रहेका बर्दिया प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवालीले स्थानीयवासीले जग्गा अतिक्रमण र भारतीय पक्षबाट हुने गरेको दुव्र्यवहारबारे गुनासो गरेको जानकारी दिए । टोलीका अनुसार दसगजा क्षेत्रमा रहेका दुई सय ४६ सीमास्तम्भमध्ये ७३ सीमास्तम्भ फेला नपरेका र पाँचवटा सीमास्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ । सीमास्तम्भको निरीक्षणपछि टोलीले सीमाक्षेत्रमा बसोवास गरेका नेपालीलाई सुरक्षाको पूर्ण प्रत्याभूति मिलाउन स्थानीय प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । जिल्लास्थित सुरक्षा अधिकारीहरूले सीमामा रहेका नेपालीको सुरक्षाका लागि प्रतिबद्व रहेको बताए । टोलीमा सभासद्, मोहमदी सिद्दिकी, नजिर मियाँलगायत नौजना सभासद्, सीमाविद बुद्धिनारायण श्रेष्ठ र समितिका सचिव जयनारायण नेपाल छन् ।

No comments: