News

Dec 8, 2009

पूर्वराजा ज्ञानेन्द्र विवाह समारोहमा भाग लिन भारततर्फ प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २२ पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तको विवाह समारोहमा भाग लिन आइतबार भारततर्फ प्रस्थान गरेका छन्। उनका साथमा पूर्व रानी कोमल र निजी सचिव सागरप्रसाद तिमल्सिनासमेत भारत गएका छन्। उनी भारतीय जेट एअरबाट आइतबार १५:५० को उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए। पूर्वराजाका सचिव फणिराज पाठकका अनुसार उनी दिल्लीबाट उडिसा प्रस्थान गर्नेछन्। पूर्व राजदम्ती उडिसामा फुपू भारती भन्जदेवाको नातिनीको बुधबार हुने बिहे समारोहमा सरिक हुनेछन्। भारती स्वर्गीय राजा त्रिभुवनकी छोरी हुन्।पूर्व राजदम्पती करिब २ साता भारतमा बस्ने कार्यक्रम छ।पूर्व राजदम्पतीले भारतमा २५ वटा सुटकेस लगेका छन्। पूर्व राजाकै सुरक्षामा तैनाथ प्रहरीले महिन्द्र मिनी ट्रकमा राखेर ती सुटकेस दिउँसो १:३० बजे विमानस्थल पुर्‍याइदिएको थियो।भारतमा पूर्व राजाको यसपटक भारतीय नेतासित भेट्ने कार्यक्रम रहे/नरहेकोबारेमा आफूलाई केही थाहा नभएको पाठकले बताए। 'पूर्व राजाको बिहेमा सरिक हुनेबाहेक अरू कार्यक्रम छ कि छैन, थाहा छैन' उनले भने।पूर्वराजा ज्ञानेन्द्र करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उडान समय नभएसम्म पूर्व राजदम्तीलाई विमानस्थलको भीआईपी कक्षमा राखिएको थियो। माओवादीको नेपाल बन्दले सडक ठप्प भए पनि सशस्त्र र नेपाल प्रहरीले पूर्व राजदम्पतीले व्यापक सुरक्षा दिई विमानस्थलमा पुर्‍याएका थिए। पूर्व राजाकै सुरक्षामा खटिएका सुरक्षाकर्मीले नै उनलाई विमानस्थलसम्म स्कर्टिङ गर्दै लगेका थिए भने स्थानीय विभिन्न प्रहरी कार्यालयले बाटामा थप सुरक्षा दिएका थिए।राजगद्दीबाट च्युत भएपछि पूर्वराजा ज्ञानेन्द्रले दोस्रोपटक भारतको निजी भ्रमण गरेका हुन्। यसअघि पूर्वराजाले सन् २००९ को फेब्रुअरी २६ देखि तीन साता लामो भारतको तीन साता लामो निजी भ्रमण गरेका थिए।त्यतिबेला उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी र भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीलगायतका नेतालाई भेटेका थिए। उनले अघिल्लोपटक राजस्थानमा फुपू नलिनीको नातिनीको बिहेमा भाग लिन जाने क्रममा भारतको भ्रमण गरेका हुन्।

No comments: