News

Dec 5, 2009

रूसमा आगलागीमा परि मारिनेहरूको संख्या १०३ र १३० जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रूसमा एउटा रात्रीकालीन मनोरञ्जनस्थल, नाइटक्लबमा भएको आगलागीमा परि मारिनेहरूको संख्या बढेर १०३ पुगेको छ भने कम्तीमा १३० जना घाइते भएकाछन्। घाइते मध्ये धेरैको अवस्था गम्भीर छ। पेर्म शहरमा भएको उक्त आगलागीको घटनामा बांच्न सफल भएकाहरूले उक्त क्लबको स्टेजमा गरिएको आतशबाजीका कारण दलीनमा आगो सल्केको पुष्टि गरेका छन्। "लेम हर्स" नाउंको उक्त नाइटक्लबभित्र खिचिएको भिडियोमा एकमिनेट अघिसम्म मानिसहरू खुशीसाथ नाचिरहेका देखिन्छ भने अर्को मिनेटमा आगोको लप्का उर्लिएर दलिनबाट फैलिन लाग्दा मानिसहरूमा भद्रगोल मच्चिएर तिनीहरू नजीकको ढोकाबाट बाहिर निस्कन भागमभाग गरेका देखिन्छ। मारिनेहरू धेरैजसो बाक्लो धुंवाका कारण मरेका र केही क्लबमा जम्मा भएका झण्डै दुई सयभन्दा बढी मानिसहरू एकै पटक एउटै बाटोबाट धकेलाधकेल गरेर बाहिर निस्कन खोज्दा च्यापिएर मरेका हुनसक्ने ठानिएको छ। रूसको सरकारी अभियोक्ताको कार्यालयका अधिकारीहरू र केही सरकारी मन्त्रीहरू घटनास्थलमा पुगेका छन्। उक्त नाइटक्लबका मालिकलाई हिरासतमा लिइएको छ। रूसी राष्ट्रपति दिमित्री मेदभेदेभले उक्त नाइटक्लबको सुरक्षाको दायित्व भएकाहरू आपराधिक हेलचेक्र्याईंको दोषी भएको बताएका छन्। राष्ट्रपति मेदभेदेभले भने, "जे जस्तो घटना भयो त्यसलाई एउटा अपराध बाहेक अरू केहि भन्न सकिन्न। यो सुनियोजित अपराध निश्चय पनि होइन तर त्यसो भन्दैमा यो घटनाबाट उत्पन्न असरको गम्भीरता भने कम हुंदैन।" रुसी राष्ट्रपतिले उक्त क्लबभित्र आतशबाजी गर्न दिनेहरूलाई कडा रुपमा दण्डित गरिने पनि बताए। रूसमा यस्तो घातक आगलागीका घटनाहरू उदेकलाग्दो गरी नियमित जस्तै भैरहन्छन्। हरेक बर्ष १८ हजार भन्दा बढी यस्ता घटनाहरू हुने गर्छन्। तर त्यस्ता घटनाहरूको दांजोमा पनि पेर्म शहरमा भएको वियोगान्त दुर्घटना भने स्तब्धकारी नै रहेको छ।

No comments: