News

Dec 17, 2009

धरानमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २ - आदिवासी चलचित्रको निर्माण, विकास तथा दर्शक विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि धरानमा दुई दिने अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव हुने भएको छ । धरान र पूर्वाञ्चलको जनजातीय सांस्कृतिक पर्यटनको विकासमा सहयोग पुर्‍याउने र आदिवासी जनजातिहरुको माग, मुद्दा र संस्कृतिलाई प्रसार गर्ने ध्येयले इण्डिजिनियस फिल्म अर्काइभको सहयोगमा धरान -८ बरगाछि स्थित धरान सभागृहमा स्वदेश र विदेशमा बनेका १५ चलचित्र प्रदर्शन गर्ने आदिवासी जनजाति चलचित्र प्रवर्द्धन समिति सुनसरीका अध्यक्ष गोपाल देवानले बताए । महोत्सवमा पहिलो दिन बोलिभियाली आदिवासीले आफ्नो मुलुकमा संविधानसभाका लागि गरेको आन्दोलनको गाथा 'विल्डिङ डिग्निटी', तामाङ गोठालोले आफ्नो गाउँमा शिक्षाको उज्यालो छर्न गरेको संघर्षको कथा 'गोदेवा' कुमालेजातिले परम्परागत पेशा अपनाउदा झेल्नु परेको दुखको नेवारी कथा 'ग्वाय मरु' तामाङ जातिको लाहुरे परम्पराले पारेको प्रभावमा आधारित कथा 'तिनागा' प्रदर्शन गरिने छन् । दोश्रो दिन इन्डिजिनियस फिल्म अर्काइभको निर्देशन तालिम पछि आदिवासी महिला निर्देशकहरुद्धारा निर्मित छोटा फिल्महरु लिम्बू भाषाको थाक्थाक्मा, चेपाङ भाषाको द चिउरी, मगर भाषाको नाराम, तामाङ भाषाको महिटा र फिनल्याण्डको गेइटालागा प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ । सोही दिन थारु जातिले गरेको संघर्षको कथा भुयार, नविन सुव्वाद्वारा निर्देशित आदिवासी जनजातिले अधिकार खोज्नेक्रममा गरेका संघर्षका कथामा आधारित द लङ जर्नी, जन्म दिने भन्दा कर्म दिने महान भनेर चिनाउने मगर भाषाको चलचित्र बाराही पुत्र लगायत प्रदर्शन हुने छन् । आदिवासी जनजातिको मुद्दा र संस्कृतिलाई आफ्नो समुदायका साथै गैरआदिवासी समुदायमा समेत प्रसार गर्न र आदिवासी चलचित्रको दर्शक विस्तार गर्न चलचित्र महोत्सवको आयोजना गरिएको अध्यक्ष देवानले बताए । उनले भने, 'चलचित्रलाई अहिले सम्म मनोरञ्जनको एउटा माध्यमको रुपमा मात्र धेरैले बुझेका छन् । प्रविधिको जादू मानिएको उक्त माध्यम विश्वव्यापी प्रविधि हो । पछिल्लो समयमा उक्त प्रविधि टेलिभिजन र विभिन्न च्यानलहरुको रुपमा प्रबेश भइरहेका छन् । तर ती चलचित्रले नया पुस्तालाई विकृत संस्कृतिको प्रसार गर्दै आफ्ना उत्पादित बस्तुलाई मात्र प्रवर्द्धन गरेका छन् । धरानमा आयोजना हुने चलचित्रको उदेश्य भनेको मौलिकता र यथार्थता तिर आकषिर्त गराउनु हो ।' संस्कृति र चलचित्र एउटै सिक्काको दुई पाटा भएको जनाउदै चलचित्रले जहिले पनि संस्कृतिको प्रसारमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिए । पछिल्लो पटक विश्वका विभिन्न देश र नेपालमा बनेका आदिवासी चलचित्रहरुले आदिवासी जनजाति समुदायको संस्कृतिबारे ज्ञानको प्रसार गर्दै आइरहेको सन्दर्भ जोड्दै उनले चलचित्रको माध्यमबाट जनजाति समुदायलाई सचेत र संगठित बनाउन सकिने बताए ।

No comments: