News

Dec 30, 2009

नेकपा (एकीकृत)को एक समूह विधिवत रूपमा विभाजन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १५ , महाधिवेशनको म्यान्डेटमा पार्टी नगएको आरोप लगाउँदै नेकपा (एकीकृत)को एक समूह विधिवत रूपमा विभाजन हुने भएको छ। संस्थापन पक्षको केन्द्रीय समिति बैठक भइरहेको बेला पूर्व सांसद नवराज सुवेदीको समूहले बुटवलमा भेला गरी समानान्तर समिति गठन गरेको छ। एकताकेन्द्र-मसाल तीन चिरापछि गठित एकीकृत बहुमत जिल्ला सहित सुवेदीको समूहमा सामेल भएको छ। उक्त समूह एकीकृत माओवादीसँग एकता गर्ने तयारी भएको छ।स्रोतका अनुसार केही दिनअघि माओवादी उपाध्यक्ष बाबुराम भट्टराई निवास शान्तिनगरमा अध्यक्ष पुष्पकमल दाहाल सहित बसेर एकता गर्ने भनि लिखित सहमति भइसकेको छ।संस्थापन पक्षका महासचिव रामसिंह श्रीसले भने सुवेदी र उनलाई साथ दिने अर्का केन्द्रीय सदस्य तेजप्रसाद कँडेललाई निस्कासन गरिएको दाबी गरेका छन्। संस्थापन पक्षसँग अन्य केन्द्रीय सदस्यहरु पनि असन्तुष्ट रहे पनि सुवेदीको समूहमा गएका छैनन्।सुवेदी समूहको भेला समितिमा राखिएका केन्द्रीय सदस्य भारत लामिछानेले असहमति जनाएका छन्। उनले एकीकृतमै रहेर कम्युनिस्ट आन्दोलनलाई धु्रवीकरण गर्ने बताएका छन्।'माओवादी लगायत वाम शक्तिसँग धु्रवीकरण गर्ने महाधिवेशन र चौथो बैठकको म्यान्डेटलाई संस्थापन पक्षले अस्वीकार गरेपछि विद्रोह गरियो', सुवेदीले नागरिकसित भने। सुवेदी समूहमा रहेका अर्का केन्द्रीय सदस्य लिलबहादुर थापा मगरले केही प्रक्रिया नपुर्‍याएर भेला गरेको बताएका छन्।'कम्युनिस्ट आन्दोलन ध्रुवीकरणका लागि जुनसुकै समूहले गरेको भेला मेरो लागि स्वागतयोग्य छ। तर, त्यसलाई सबैसँग छलफल गरेर प्रक्रियागत रूपमा जानु पर्नेमा केही कमजोरी भएको छ', थापाले भने।'पूर्व केन्द्रीय सदस्य नवराज सुवेदी र तेजप्रसाद कँडेल पार्टीसँग सम्बद्ध नहुनु भएको र उहाँहरू पार्टीबाट अलग भइसक्नु भएको हुँदा एकीकृतको कुनै पदीय जिम्मेवारी र सदस्य समेतबाट नरहेको जानकारी गराइन्छ', श्रीसद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।सुवेदीले पुस १० र ११ गते बुटवलमा भेला गरी अयोजक समिति गठन गरेका थिए। सुवेदीले पार्टीको नाम दुरुपयोग गरेको भनि श्रीसले आपत्ति जनाएका छन्। सुवेदी समूहले केही दिनमा भेला गरी माओवादीसँग एकताको निर्णय गर्ने भएको छ।

No comments: