News

Dec 30, 2009

राष्ट्रिय जनगणना ०६८ को जेठ २८ देखि ७ असारसम्म सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भैरहवा, १५ पुस : प्रत्येक दस/दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वर्ष ०६८ सालको जेठ २८ देखि ७ असारसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागले भैरहवामा गरेको राष्ट्रिय जनगणना ०६८ सम्बन्धी कार्यक्रममा सो जानकारी गराइएको हो ।कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत दामोदर ज्ञवालीले जनगणनाका लागि प्रश्नावलीको मस्यौदा तयार भइसकेको जानकारी दिँदै ४५ हजार जनशक्ति जनगणनामा परिचालन गरिने बताए । लैंगिक, मैत्रीय र समावेशी हुनेगरी प्रश्नावलीका मस्यौदा तयार पारिएको र जनगणनामा कुनै समस्या नआउनेगरी कार्य सम्पादन भइरहेको उनको दाबी थियो । विगतका जनगणनामा शिक्षा साक्षरता नमुना छनोटका आधारमा गरिएको भए पनि यसपटक भने सम्पूर्ण घरधुरीमा गएर शिक्षा र साक्षरताको तथ्यांक संकलन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागका शाखा अधिकृत ज्ञानेन्द्र बज्राचार्यले यसपटकको गणनामा मातृ मृत्युदर संरचना, परिवारको आम्दानीको स्रोत, अपांगता मैत्रीयता, घरमा सोलार प्रयोग गर्नेहरूको संख्या, इन्टरनेट, मोबाइल, केबल टिभी उपभोग गर्नेहरूको संख्या, रोजगारीमा जानेहरूको अवस्था र संख्याको बारेमा समेत विवरण संकलन गर्ने जानकारी गराए ।विगतमा जातिको मात्र गणना हुने भएकोमा यसपटकबाट जातिभित्र रहेका विभिन्न थरअनुसार गणना हुने कार्यक्रममा बताइयो । १० दिनसम्म जनगणना गरी असार ८ गतेलाई राष्ट्रिय जनगणना दिवसका रूपमा मनाउने तयारी राष्ट्रिय योजना आयोगको छ । आधारभूत तथ्यांकको रूपमा विकास गर्ने, देशको तल्लो प्रशासनिक इकाइहरूको समेत तथ्यांक उपलब्ध गराउने र लैंगिक मैत्री तथा समावेशीकरण तथ्यांक प्रदान गर्ने आधारभूत उद्देश्य राष्ट्रिय जनगणना ०६८ मा लिइएको छ । यो नेपालको एघारौँ जनगणनाका रूपमा रहेको र ०६८ को जनगणनामा अनुमानित करिब ६० लाख परिवारबाट पारिवारिक तथा व्यक्तिगत विवरण संकलन गरिने लक्ष्य रहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

No comments: