News

Dec 9, 2009

महिला पत्रकार कुटिएको विरोधमा प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०९डिसेम्बर,२००९, नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्ष एवं रुकुमकी पत्रकार टीका बिष्टलाई अज्ञात समूहले मंगलबार सांघातिक आक्रमण गरि सख्त घाइते बनाएको विरोधमा पत्रकारहरुले आज बुधबार प्रदर्शन गरेका छन् । विभिन्न प्रेससम्बद्ध संघसंस्थाले पत्रकार बिष्टमाथि भएको आक्रमणको निन्दा गर्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालले पत्रकार बिष्टमाथि भएको आक्रमणको विरोधमा दाङ लगायत राप्ती अञ्चलका जिल्लाहरुमा प्रदर्शन गरेको छ । प्राप्त समाचार अनुसार प्रेस चौतारीको आह्वानमा आज बिहान दाङमा पत्रकारहरुले जुलुस निकालेका थिए । जुलुसपछि आयोजित सभामा बोल्दै पत्रकारहरुले पत्रकार बिष्टमाथि आक्रमण गर्नेहरुमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरे । केही समय अगाडि 'किन चाहियो माओवादीलाई तीर्थाको सिन्दुर' शीर्षकमा स्थानीय जन्तीधारा साप्ताहिकमा एक लेख लेखेकै कारण दुई साता अगाडिदेखि धम्कीको सामना गर्दै आएकी पत्रकार बिष्टमाथि मंगलबार मध्यान्ह १२ बजेतिर सांघातिक आक्रमण भएको हो । खलंगास्थित आफ्नै डेराबाट सल्यानतर्फजाँदै गरेको बेला खलंगाको मठको भीरबाट २० मिटर तल रुमालले मुखमा बाँधेको अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल रुकुममा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको छ । उनलाई आज थप उपचारका लागि काठमाडौं ल्याउने तयार भएको बताइएको छ । बिष्ट स्थानीय सिस्ने एफएमकी समाचार प्रमुख र राजधानी दैनिककी रुकुम संवाददाता हुन् । घटनास्थलमा भाँचिएको कलम, च्यातिएका कागजपत्र र फुटाइएका ल्यापटप, रेडियो र मोबाइल भेटिएको छ । टाउकोमा गम्भीर चोट लागेकाले पत्रकार बिष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
बिष्टमाथि आक्रमण कसले गर्‍यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले बिष्टको ब्लेडले दायाँ हातको पाँचवटै औंला र देब्रे खुट्टाको दुई वटा औंला चिरिदिएका छन् । यस घटनाको नेपाल पत्रकार महासंघ लगायतका पत्रकारसम्बद्ध संघसंस्थाहरुले भर्त्सना गरेका छन् । महासंघले पत्रकार विष्टमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गरेको छ । राजधानी दैनिककी रुकुम संवाददाता तथा महासंघकी केन्द्रीय सभासद बिष्टलाई मंगलबार मुसिकोटस्थित उनको घरबाट दुई सय मिटर टाढा झाडीमा अचेत अवस्थामा फेला पारिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा फेला परेकी बिष्टलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको विज्ञप्तिमा उल्लेख छ ।महासंघले तत्काल उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । घटनामा संलग्नको पहिचान गरी कडा कारवाही गर्न समेत महासंघले जोडदार माग गरेको छ ।

No comments: