News

Dec 9, 2009

सगरमाथाबाट स्काइडाइभ गरेर कीर्तिमान बनाईन पूजनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा माथिबाट फालहाल्नु के सम्भव होला ? सायद कसैले पनि यो सम्भव हुने कुरा ठान्दैनन्। तर, एक नेपाली महिलाले भने यो कुरा प्रमाणित गरेरै देखाएकी छन्, सगरमाथाभन्दा माथि २९ हजार ३ सय फिटबाट स्काइडाइभ गरेर। समावेशी महिला सगरमाथा आरोहण दलमा सहभागी भई सगरमाथाको सफल आरोहण गरिसकेकी दोलखा गौरीशंकर गाविसकी पूजन आचार्यले सन् २००९ अक्टोबर १७ मा सगरमाथाभन्दा माथि २९ हजार ३ सय फिटको उचाइमा पुगेर स्काइडाइभ गर्ने नेपालीमध्येबाट पहिलो बनेर रेकर्डसमेत राखेकी छन्। स्काइडाइभजस्तो साहसी र रोमाञ्चक खेल नेपालमा पहिलोपटक भित्र्याउने एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चरको सहयोगमा त्यति धेरै उचाइबाट स्काइडाइभ गर्न सकेकी आचार्यले आफूलाई स्काइडाइभ खेल नौलो तर रोमाञ्चक लागेको बताइन्। नेपालमा यो खेललाई विस्तार गर्न सकिए सन् २०११ को पर्यटन वर्षसफल पार्न अधिक पर्यटकलाई नेपाल भित्र्याउन सकिने पनि आचार्यले बताइन्। सगरमाथा आरोही पूजन आचार्यले न्यूजिल्यान्डकी लिडरविन्डी स्मिथको सहयोगमा अमेरिकाका टयान्डम मास्टर टम नोनानसँग त्यति धेरै उचाइबाट स्काइडाइभ गर्न सकेकी थिइन्। स्काइडाइभको अवधिमा प्यारासुट खुल्नुभन्दा अगाडिको प्रिफल समय आफूलाई बढी रोमाञ्चक र आनन्ददायी लागेको पूजनले बताइन्। तारा एयरको पिलाटस पोर्टर विमानमा आधा घण्टासम्मको उडान अनि वरिपरिका हिमाल, पहाड, ताल आदिको दृश्य हेर्दै जम्प गर्ने समय भएपछि पाइलटको सांकेतिक भाषाअनुसार विन्डी स्मिथले प्लेनको ढोका खोलेपछि आफूहरू हामफालेको क्षणले अहिले पनि रोमाञ्चक बनाउने गरेको मीठो अनुभूति पूजनले सुनाइन्।अचम्मको खेल एउटा उचाइमा रहेको प्लेनबाट हावामा हामफाल्नुपर्ने र १० देखि १५ सेकेन्डसम्मको प्रि फल समयमा हावामा अडिएर हात फिजाउँदै टाउको दायाँबायाँ गर्दै संसार हेर्दै आफूलाई चराजस्तै ठान्न सकिने पूजनले स्काइडाइभको क्षण वर्णन गर्दै भनिन्। सगरमाथा आरोहण र सगरमाथाभन्दा माथि उचाइबाट स्काइडाइभ गर्दाको फरकफरक अनुभव बटुलेकी पूजनले दुवै साहसिक तथा जोखिमपूर्ण् रहेको उल्लेख गर्दै आरोहण गर्दा मानसिक तथा शारीरिक रूपमा दुःख नै बढी हुने तर स्काइडाइभ गर्दा रमाइलो बढी हुने बताइन्।जलवायु परिवर्तनसम्बन्धी कोपेनहेगनमा हुने सम्मेलनमा समेत सहभागी हुने आचार्यले सगरमाथाको सफल आरोहण गर्दा र सगरमाथाभन्दा माथिबाट स्काइडाइभ गर्दा जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा परेको प्रभावबारे आफूले कोपेनहेगनमा भेटिने सबैलाई जानकारी गराउने बताइन्।

No comments: