News

Dec 17, 2009

जलवायु परिवर्तन विश्व सम्मेलनकी अध्यक्ष कोनी हेडेगार्डले राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोपनहेगन/ डेनमार्कमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन विश्व सम्मेलनकी अध्यक्ष कोनी हेडेगार्डले राजीनामा दिएकी छिन् । उनले बुधबार राजीनामा दिएकी हुन् । अब जलवायु परिवर्तनको विश्व सम्मेलनको अध्यक्षता डेनिस प्रधानमन्त्री लार्स लोकी रासमुसेनले गर्ने बताइएको छ । राष्ट्रसंघीय जलवायु प्रमुख योभो दे बोयरले हेडेगार्डले अनौपचारिक वार्ताको अध्यक्षता भने गर्ने बताएका छन् । विभिन्न राष्ट्रप्रमुख र सरकारप्रमुखले भाग लिएको वार्तामा प्रधानमन्त्री रासमुसेनले नेतृत्व गर्नु उचित भएको हेडेगार्डले बताइन् । डेनमार्कको राजधानी कोपनहेगनमा जलवायु परिवर्तन सम्मेलनस्थलमा सयौं प्रदर्शनकारीले बुधबार विरोध प्रदर्शन गरेका छन् । जलवायु परिवर्तन वार्तामा कुनै प्रगति नभएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । मन्त्रीहरूको छलफल सुरुसँगै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । छलफलकक्षमा प्रवेश गर्ने प्रयास गर्ने प्रदर्शनकारीले बताएका छन् । प्रदर्शन सुरु भएलगत्तै प्रहरीले एक सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । वार्तास्थलमा सुरक्षा प्रबन्ध कडा बनाइएको छ । कोपनहेगनमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी वार्ता अत्यन्त अहं तथा नाजुक मोडमा आइपुगेको छ । उत्सर्जन कटौती र गरिब राष्ट्रलाई दिइने आर्थिक सहयोगका विषयमा विकसित र विकासशील राष्ट्रबीच विवाद चलिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले विकासशील राष्ट्रले जलवायु परिवर्तनसँग जुध्न विकसित राष्ट्रबाट तुरुन्त आर्थिक सहयोग पाउने आशा अहिलेलाई छोड्नुपर्ने हुनसक्ने संकेत गरेका छन् ।

No comments: