News

Sep 30, 2008

सम्झौता कार्यान्वयन नभएर सरकारमा बस्दैनौं - गच्छदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरूसँग भएका २२ बुँदे सहमति र आठ बुँदे सम्झौता कार्यान्वयन नभए मधेसी जनअधिकार फोरम सरकारबाट बाहिरिने बताउनुभएको छ । फोरमको सुनसरी जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको भेलामा कार्यकर्ताले अघिल्लो सरकारसँग मधेसवादी दलहरूद्वारा भएका सम्झौता र सहमति कार्यान्वयन नभएको बताएपछि गच्छदारले यस्तो बताउनुभएको हो ।उहाँले तराइमा बस्दै आएका नागरिकलाई राज्यले उपेक्षा गरेको विषयमा सबै मधेसवादी दल परिचित रहेको बताउँदै सरकारले ती सम्झौता र समझदारी अक्षरस कार्यान्वयन गर्ने इच्छाशक्ति नदेखाए सरकारमा बस्नुको औचित्य समाप्त हुने पनि उल्लेख गर्नुभयो । सप्तकोसी बाढीप्रभावित शिविर तथा चतरा पश्चिम उदयपुरको रामपुर ठोक्सिला सडकखण्डको स्तरवृद्धिको पछिल्लो प्रगतिको अवलोकन गरी मन्त्री गच्छदार सदरमुकाम इनरुवा पुग्नु भएको हो ।मन्त्री गच्छदारले पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा प्रयोगमा आएको चतरा-रामपुर सडकलाई एक भरपर्दो मार्ग बनाउन सरकारले भरमग्दुर प्रयास गरिरहेको जानकारी पनि दिनुभयो । यात्रुलाई कोसी नदीमा सजिलोसँग तार्न चितवनबाट दुइवटा जेटवाज ल्याउने काम भएको र अब ती जेटवाज चलाउने स्टेसनको तयारी भइरहेको जानकारी दिंदै मन्त्री गच्छदारले यसै सातादेखि जेटवाजले यात्रु ओसार्ने बताउनुभयो ।

No comments: