News

Sep 26, 2008

दैवीप्रकोपबाट प्रभावितको लागि 'प्याकेज कार्यक्रम' ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले दैवीप्रकोपबाट प्रभावित क्षेत्रमा पुनस्थापना र पुननिर्माण कार्यका लागि 'प्याकेज कार्यक्रम' ल्याइने जानकारी दिनुभएको छ । कैलालीको गेटा विमानस्थलमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री स्वदेश फर्केपछि प्याकेज कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले बाढी, डुबानबाट विस्थापितहरुलाई राहत सामग्री वितरण गर्न तत्कालका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट कैलाली जिल्लालाई तीन करोड रुपैयाँ उपलब्ध गराइने समेत घोषणा गर्नुभयो । उहाँले कैलाली, कञ्चनपुरलगायत जिल्लाका खास क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सकिने पनि बताउनुभयो ।बाढी र डुबानका कारण कैलालीमा १४ जनाको मृत्यु र १६ हजार ६५७ परिवार विस्थापित भएका छन् । यसैबीच, गृहमन्त्री गौतमले बाढीबाट विस्थापित भएकाहरुलाई खाली जमिन दिएर पुनस्थापित गरिने बताउनुभएको छ । सुदूरपश्चिममा आएको बाढी प्रभावित क्षेत्रको निरीक्षण क्रममा कञ्चनपुर शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताउनुभएको हो ।

No comments: