News

Sep 26, 2008

सामाजिक तथा रूपान्तरण गर्ने तीन प्रमुख उद्देश्य - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समावेशी, लोकतान्त्रिक र दूरदर्शी संविधान लेख्नु, शान्तिप्रक्रियालाई तार्किक एवं सफल निष्कर्षमा पुर्‍याउनु र सामाजिक तथा रूपान्तरण गर्नु नै आफ्नो तीन प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा एसिया सोसाइटीद्वारा बिहीबार आयोजित 'नयाँ नेपालमा शान्ति र लोकतन्त्रका चुनौती' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।'नयाँ नेपालको अर्थ पहिलाको भन्दा सुधार, विगतमा पछाडिपारिएका समूहको समावेशीकरण र सशक्तीकरण, विविध राजनीतिक विचारधारालाई स्थान र लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यमबाट समस्याहरूको समाधान हो भन्दै उहाँले नयाँ नेपालले केन्द्र नियन्त्रित सामन्तवादी राज्य व्यवस्थालाई बढी जिम्मेवार र समावेशी संघात्मक राज्यमा रूपान्तरण गर्ने अवधारणालाई पनि समेट्ने स्पष्ट गर्नुभयो ।'यी सबैको अर्थ नयाँ युगको प्रारम्भ हो, यसमा नेपाली जनता नै आफ्नो मालिक हुनेछन् र आफ्नो दैनिक जीवनमा ठूलो परिवर्तन महसुस गर्नेछन्' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले देशमा आर्थिक क्रान्ति ल्याउने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा भएको राजनीतिक विकासलाई विस्तृतरूपमा विश्लेषण गर्न र २१ औं शताब्दीमा कसरी द्वन्द्वको अवस्थालाई अवसरमा परिणत गर्न सकिन्छ भन्ने हेर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले नेपालमा भएको व्यापक परिवर्तन र रूपान्तरणलाई ध्यानमा राखी यसको शान्तिप्रक्रियालाई सहयोग गर्नु अन्तर्राष्ट्रिय समुदायको पनि दायित्व भएकोमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभामा भाग लिन पुगेका विभिन्न देशका नेताहरूसँग भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको पनि राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।यसक्रममा श्रीलंकका राष्ट्रपति महिन्दा राजापाक्ष, टर्कीका राष्ट्रपति अबदुल्ला गुल, भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्ले र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमसँग प्रधानमन्त्रीले भेट गर्नुभएको तथा भेटघाटमा नेपालमा भएको राजनीतिक परिवर्तन र शान्तिप्रक्रियाबारे अवगत गराउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

No comments: