News

Sep 24, 2008

बादलले चिनियाँ सेनाको अभियान अवलोकन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन भ्रमणमा रहेका रक्षामन्त्री रामबहादुर थापा बादलले चिनियाँ सेनाको 'वारियर २००८' नामको सैनिक अभियान अवलोकन गर्दैछन् । रक्षामन्त्री रामबहादुर थापा 'बादल' ले असोज ८ गते चिनियाँ रक्षामन्त्री रथी लियाङ कुवाङ लिए तथा चीनको केन्द्रीय सैन्य आयोगका कार्यकारी उपाध्यक्ष को पो सियोङसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । बादल चीन सरकारको निमन्त्रणामा चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यासको अवलोकन गर्न तथा सद्भावना भ्रमणनिम्ति असोज ७ गते बेइजिङ पुगेका हुन् । रक्षामन्त्रीकासाथ नेपाली सेनाका उपरथी छत्रमान सिंह गुरुङ तथा रक्षामन्त्रीका स्वकीय सचिव प्रतीक थापा भ्रमणमा छन् ।
बेइजिङ आउनुअघि चीनको प्रमुख व्यापारिक सहर ग्वान्झाउ पुगेका रक्षामन्त्रीले त्यहाँका चीनका क्षेत्रीय सैन्य कमान्डरहरुसँग भेटवार्ता गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ । ग्वान्झाउ विमानस्थलमा रक्षामन्त्रीलाई बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्नेल राजेन्द्रबहादुर कार्की तथा स्थानीय सैन्य अधिकारीहरुले स्वागत गरेका थिए ।
"वारियर २००८" नाम दिइएको चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास अवलोकन गर्न रक्षामन्त्री असोज ८ गते साँझ चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेश जाँदैछन् । उक्त कार्यक्रम अवलोकन गर्न चीनको रक्षा मन्त्रालयले नेपाली रक्षामन्त्रीसहित ३६ देशका सैन्य अधिकारीहरुलाई निमन्त्रणा गरेको छ । रक्षामन्त्री असोज ११ गते शनिबार स्वदेश फर्कदैछन् ।

No comments: