News

Sep 23, 2008

एमाले र फोरमका सभासदहरुले बजेटप्रति नकारात्मक धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्ता साझेदार एमाले र फोरमका सभासदहरुले अर्थमन्त्री डा. बाबुराम भट्टराईले बिधायिका संसदमा प्रस्तुत गरेको बजेटप्रति नकारात्मक धारणा राखेका छन् । माओवादी, एमाले र मधेसी जनअधिकार फोरमसहितको संयुक्त सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको आगामी वर्षको बजेटप्रति एमाले र फोरमका सांसदहरुले नै असन्तुष्टि प्रकट गरेका छन् । असोज ७ गते बिधायिका संसदको बैठकमा बोल्दै उनीहरुले बजेट कार्यन्वयन नहुने तथा बजेटले आशा गरेजत्ति बैदेशिक अनुदान र सहयोग नआउने मात्र नभएर राजश्व पनि अनुमान गरेजत्ति नउठने बताए ।
एमाले सभासद महेश चौधरीले बैदेशिक अनुदान एक सय प्रतिशत बृद्धि हुने आधार बजेटमा नभेटिएको बताए । आशा गरेजत्ति बैदेशिक अनुदान नआए बजेट कार्यन्वयन नहुने तथा त्यसो भए ढाँटने मात्र काम हुने पनि उनले उल्लेख गरे ।
बिधायिका संसदमा बोल्दै एमालेका अर्का सभासद बिष्णु रिमालले बजेट पहिल्यै लोकप्रीय भइसकेका नाराहरुको भद्धा संस्करण भएको आरोप लगाए । उनले अर्थमन्त्रीद्वारा प्रस्तुत बजेट सत्ता साझेदारहरुलाई हसाउने प्रकारको भएको पनि धारणा राखे । अर्का एमाले सभासद तिलक थापा मगरले बजेट कार्यन्वयन अत्यन्तै चुनौतीपूर्ण भएको उल्लेख गर्दै बजेट कार्यन्वयन नभए जनतामा गणतन्त्रप्रति उदासिनता उत्पन्न हुने बताए । बजेटमा अधिकांश नाराहरु एमालेका भएको दावी गर्दै उनले मजदुरहरुको पक्षमा भने बजेटमा केही नभएको दावी गरे ।
एमालेकै सभासद मंगलसिद्धि मानन्धरले बजेटले अनुमान गरेजत्ति राजश्व उठ्न असम्भव रहेको दावी गर्दै बजेटमा एमालेका नाराहरुको अन्ध नक्कल भएको धारणा राखे । संसदमा बोल्दै मधेसी जनअधिकार फोरमका सभासद अभिषेकप्रसाद साहले बजेट कृषि क्षेत्रप्रति नकारात्मक भएको दावी गरे । 'कृषि क्षेत्रलाई अनुदान दिएर प्रोत्साहन दिनुपर्दथ्यो' साहले भने ।

No comments: