News

Aug 12, 2009

प्रधानमन्त्रीसँगै भारत जान जम्बो टोली तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २९- प्रधानमन्त्री माधवकुमार नेपाल छ दर्जनभन्दा बढी सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मी लगायतको जम्बो टोलीको नेतृत्व गरी आगामी साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री कार्यालयले भने भ्रमण टोली अहिलेसम्मकै सानोमध्ये एक हुने दाबी गरेको छ।स्रोतहरूका अनुसार प्रधानमन्त्रीले नेतृत्व गर्ने सरकारी टोलीमा ६ मन्त्रीसहित झण्डै दुई दर्जन उच्चसरकारी अधिकारी, आधी दर्जन उद्योगी-व्यवसायी, डेढ दर्जन सञ्चारकर्मी, अंगरक्षकसहित ७० जना नाघ्नेछ। यस अतिरिक्त निजी खर्चमा झण्डै दुई दर्जन उद्योगी व्यवसायी प्रधानमन्त्रीसँगै भ्रमणमा सहभागी हुनेछन्।सरकारी खर्चमा जानेहरूको सूचिमा बुधबारसम्म ६५ जना पुगिसकेका छन्। स्रोतहरूले सरकारी समाचार संस्था राससका प्रतिनिधिलगायत केहीको नाम प्राप्त नभएकाले यो संख्या ७० नाघ्ने बताए। '६५ अन्तिम संख्या होइन' स्रोतले भन्यो, 'यसमा अझै नाम थपिने क्रम जारी छ।'नेपालले भारतीय समकक्षी मनमोहन सिंहको निमन्त्रणामा भदौ २ देखि पाँच दिने भ्रमण गर्दैछन्। प्रधानमन्त्रीका हैसियतमा पहिलो चोटी हुन लागेको भारत भ्रमणमा नेपालसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशसरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव सहभागी हुनेछन्। उनीहरूले नेतृत्व गरेका मन्त्रालयका सचिव र अन्य वरिष्ठ कर्मचारी पनि जानेछन्।
प्रधानमन्त्रीपत्नी गायत्री नेपाल, प्रमुख राजनीतिक सल्लाहकार रघु पन्त, परराष्ट्र सल्लाहकार राजन भट्टराई, सञ्चार सल्लाहकार विष्णु रिजाल, दुई अङ्गरक्षकलगायत भ्रमण दलमा छन्।प्रधानमन्त्रीको भ्रमणमा मुख्य सचिव जाने प्रचलन विरलै भएपनि माधव घिमिरे भ्रमणमा सँगै हुनेछन्। विशेषगरी पूर्वमुख्य सचिव भोजराज घिमिरेको पालादेखि मुलुकको प्रशासन प्रमुख पनि प्रधानमन्त्री विदेश जाँदा सँगै जाने प्रचलनै बनेको छ। पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालका अधिकांश विदेश भ्रमणमा घिमिरे सँगै थिए। गत महिना असंलग्न शिखर सम्मेलनमा भाग लिन इजिप्ट जाँदासमेत उनी प्रधानमन्त्री नेपालसँगै थिए।सरकारी खर्चमा प्रधानमन्त्रीसँगै जाने व्यवसायीहरूमा उद्योग-वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा सभासद् विनोद चौधरीसहित ६ जना हुनेछन्।मुख्य-मुख्य समाचारपत्र तथा पत्रिकाका सम्पादक, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरू, पत्रकार महासंघ, साप्ताहिक पाक्षिक सञ्जालका प्रतिनिधि गरी डेढ दर्जन सञ्चारकर्मीको नाम सूचिमा छ।प्रधानमन्त्रीका सञ्चार सल्लाहकार विष्णु रिजालले सञ्चारकर्मी र उद्योगी व्यवसायीलाई सरकारी टोलीमा समावेस गर्न नमिल्ने बताउँदै भ्रमण दल सबैभन्दा सानोमध्ये एक हुने दाबी गरे। सरकारी खर्चमा गए पनि सञ्चारकर्मीलाई सरकारी टोलीमा नगनिने उनले बताए।गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सञ्चारकर्मी र निजी खर्चमा गएका उद्योगी-व्यवसायीबाहेक ४३ जनाको टोलीको नेतृत्व गरी भारत भ्रमणमा गएका थिए। 'यो पटक संभवतः त्यो संख्या नाघ्दैन' भ्रमणमा जानेहरूको नाम एकिन भइनसकेको उल्लेख गर्दै उनले थपे, 'बिहीबार सम्ममा टुङ्गो लाग्न सक्छ।'प्रधानमन्त्री नेपालले आफ्नो आसन्न भारत भ्रमणबारे मन्त्रीहरूसँग बुधबार साँझ छलफल गरेका छन्। भ्रमणका एजेण्डा र समन्वय चुस्त होस् भन्ने उद्धेश्यले उनले भ्रमणमा सहभागी हुने मन्त्रीहरू, सचिवहरूलगायतसँग छलफल गरेका हुन्।भ्रमणमा नेपालसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशसरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव सहभागी हुनेछन्। उनीहरूले नेतृत्व गरेका मन्त्रालयका सचिव र वरिष्ठ कर्मचारी पनि सँगै जानेछन्।बुधबारै साँझ प्रधानमन्त्री नेपालले उद्योगी व्यवसायीसँग पनि भ्रमणलाई दुई देशबीचको व्यापार घाटा न्यून गराउनमा कसरी उपलब्धीमूलक बनाउन सकिन्छ भनेर छलफल गरेका छन्।

No comments: