लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ वर्षीया अप्सरा रेग्मीको अपहरणपछि हत्या गरेको आरोपमा नेपाली सेनाका प्युठ लालबहादुर कार्कीलाई सेनाले नियन्त्रणमा लिएको छ । हत्याको घटना सार्वजनिक भएपछि सैनिक प्रहरीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी शरदकुमार खत्रीले अभियुक्त कार्की पक्राउ परेको पुष्टी गरे । उनले भने, 'कार्की अहिले सैनिक प्रहरीको हिरासतमा छन् ।' बिहीबार सरकारी बिदा भएकाले उनलाई शुक्रबार आफ्नो नियन्त्रणमा लिने डिएसपी खत्रीले बताए । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पत्रकार हरि प्रतिज्ञलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिसकेको छ ।१९ साउनमा बेपत्ता भएकी अप्सरा गत सोमबार बेलुका बूढानीलकण्ठको सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । अप्सराको मोबाइल कल विवरणको आधारमा अन्तिम सम्पर्क कार्कीसँग भएको देखिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।नयाँ पत्रिकालाई प्राप्त अप्सराको कल डिटेलमा अप्सरा र लालबहादुरबीच उनी हराएको दिन पटकपटक सम्पर्क भएको देखिन्छ । उनीहरूबीच अन्तिमपटक बेलुका १२:२९ देखि १२:४२ सम्म कुराकानी भएको देखिएको छ । १८ गते नै अप्सरा र लालबहादुरबीच एकै दिन १० पटक मोबाइलमा कुराकानी भएको देखिन्छ ।१० भदौसम्म बिदा स्वीकृत गराएर हिँडेका लालबहादुर कञ्चनपुर महेन्द्रनगरका हुन् । दुई सन्तानका बाबु लालबहादुर काठमाडौंमा एक्लै बस्दै आएका थिए । मृतक अप्सरा र लालबहादुरबीच दाजु-बहिनीको सम्बन्ध थियो । पाँच वर्षअघि अप्सराले उनलाई भाइटीका लगाइदिएर दाजु बनाएकी थिइन् ।बुधबार नै अप्सराको परिवारले कार्की र प्रतिज्ञाविरुद्ध हत्या अभियोगमा महाराजगन्ज वृत्तमा जाहेरी दर्ता गराएको छ । जाहेरीमा हत्यामा प्युठ कार्की र पत्रकार हरि संलग्न रहेको दाबी गरिएको छ ।शिक्षण अस्पतालमा अप्सराको बुधबारै पोस्टमार्टम भएको छ । स्रोतका अनुसार लास कुहिएकोले मृत्युको कारण स्पष्ट खुलेको छैन । चिकित्सकले थप परीक्षणका लागि भिसेरा संकलन गरेका छन् । पोस्टमार्टमको अध्ययनका लागि तीनजना चिकित्सक संलग्न रहेको छानबिन समितिको गठन गरिएको छ । बुधबार पोस्टमार्टम सकिए पनि परिवारले लास भने बुझेका छैनन् । अप्सराको हत्या भएको दाबी गर्दै उनी अध्ययनरत एनआर कलेज र ग्रामीण आदर्श उच्चमाविका विद्यार्थीले महानगरीय प्रहरी वृत्त बालाजुअगाडि बुधबार दिनभर प्रदर्शन गरेका थिए ।
No comments:
Post a Comment